नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण

कोरोना संक्रमण घटेको छ भन्दैमा सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ

कोरोना संक्रमणका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या वर्लडोमिटरका अनुसार ६५८५००० नाघेको छ। यो संख्या विश्वको कुल जनसंख्यको ०.०८३% र कुल संक्रमितको करिब १.०४% हुन आउँछ।

यसरी मृत्यु हुनेमा, वर्लडोमिटरका अनुसार,  हालसम्म विश्वको कूल कोरोनामृत्यु मध्ये अमेरिकामा सबैभन्दा धेरै करिब १६.६%, त्यसपछि क्रमशः ब्राजिलमा १०.४%, भारतमा ८%, रसियामा ५.९%, मेक्सिकोमा ५%, पेरुमा ३.३%, बेलायतमा २.९%, इटालीमा २.७%, इन्डोनेसियामा  २.४%, र फ्रान्समा २.३% छ भने नेपालमा ०.२% र उत्तरी मित्रराष्ट्र चीनमा ०.०८% छ।

त्यस्तै हालसम्म विश्वको कुल कोरोना मृत्युमध्ये महादेशमा सबैभन्दा धेरै युरोपमा२९.४%, त्यसपछि क्रमशः  उत्तर अमेरिकामा २३.५%, एसियामा २२.६%, दक्षिण अमेरिकामा २०.२%, अफ्रिकामा  ३.९% र अस्ट्रेलियामा ०.३% संक्रमित छन् भने दक्षिण एसियामा  ९.५% छन्। स्मरण रहोस् दक्षिण एसियामा मात्रै विश्वका करिब २१% जनसंख्या छ।

ती महादेशको आफ्नो कूल जनसंख्यामध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकामा ०.३१%, उत्तर अमेरिकामा ०.२६%, युरोपमा ०.२५%, अस्ट्रेलियामा ०.०५%, एसियामा ०.०५% र अफ्रिकामा ०.०२% को कोरोनाका कारण मृत्यु भएको छ भने दक्षिण एसियामा ०.०३% को कोरोनाका कारण मृत्यु भएको छ।

पछिल्लो समय विश्व र दक्षिण एसियामा कोरोना संक्रमण क्रमशः घट्दै जाने क्रममा छ भने अझै पनि यसको असर र प्रभाव धेरै देशमा बाँकी नै छ।

नेपालमा पछिल्लो समय दसैँ तिहार र निर्वाचनको तयारीका कारण सहर बजारलगायत हरेक क्षेत्रमा देखिएको भीडभाडले हुन सक्छ दैनिक संक्रमण दरमा केही वृद्धि भएको छ। त्यति मात्र नभई नेपालमा भर्खरै गत आइतबार कोरोना भाइरसको पछिल्लो भेरिएन्ट (प्रजाती) ओमिक्रोनको पनि नयाँ उपभेरिएन्ट (उपप्रजाति) देखापरेको पुष्टि भएको छ जसलाई XBB भनिएको छ।

यसXBBउपभेरिएन्ट ओमिक्रोनका दुई भिन्न–भिन्न प्रकारका प्रजातिको मिश्रणबाट जन्मिएको हो र यो निकै तीव्र गतिमा फैलिन सक्ने क्षमता भएको देखिएको छ।  XBB उपभेरिएन्ट गत सेप्टेम्बरमा मात्रै अमेरिकामा पहिलो पटक भेटिएको थियो र हालै अक्टोबरको तेस्रो साता सिंगापुरमा यसैका कारण कोरोना संक्रमणको नयाँ लहर देखिएको थियो जुन हालसम्मकै दोस्रो ठूलो साबित भयो।

त्यतिबेला सिंगापुरमा एकै दिन १७००० भन्दा धेरै संक्रमण भेटिएको थियो भने एकै दिन ५ जनासम्मले यसैका कारण ज्यान गुमाएका थिए। यो उपभेरिएन्ट भारतमा पनि भेटिइसकेको छ। यस नयाँ उपभेरिएन्टले गर्दा हालसम्म पत्ता लागेको उपचार विधि र कोरोना भ्याक्सिन प्रभावकारी नहुने हो कि भन्ने शंका पनि उब्जिएको छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर् याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण निकै न्यून देखिन्छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ। दक्षिण एसियाको पछिल्लो ५ हप्ता, सन्२०२२सेप्टेम्बर २१ देखि अक्टोबर २५ (३५ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब २५०० भन्दा कम संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाकाअधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १५ मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नया संक्रमण

सन् २०२२ अक्टोबर २३ देखि २९  (वि.सं २०७९ कात्तिक ६ देखि १२)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.१ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, कात्तिक १२ गते शनिबारसम्म, देशभरि जम्मा १२५ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००५४१ पुगेको छ। दुई हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या २९३ थियो।

त्यस्तै चित्र न.२ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ।  गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.८१% देखि अधिकतम ८.७६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.२४% रह्यो जुन दुई हप्ताअघि ५.१३% थियो।

नेपालमा एक महिनादेखि फेरि बढ्दै गएको कोरोना संक्रमण दर गत हप्ता केही कम भएको छ। गत साताको अन्तिम दिन कात्तिक १२ गते शनिबार संक्रमण दर ०.८१% रह्यो जुन यसै वर्षको जनवरी (२०७८ माघ) मा नेपालमा आएको हालसम्मकै सबैभन्दा ठूलो कोरोना प्यान्डेमिक लहरपश्चात् सबैभन्दा न्यून दैनिक संक्रमण दर हो।

यसअघि आश्विन २ गते दैनिक संक्रमण दर १.४३% सम्म पुगेको थियो। स्मरण रहोस् WHO का अनुसार प्यान्डेमिक कालमा दैनिक संक्रमण दर ५% भन्दा कम हुनु संक्रमण नियन्त्रणभित्र हुनु हो।

नेपालमा कोरोना मृत्यु भने शून्य भइसकेकोमा फेरि एक नयाँ कोरोना मृत्यु गत सोमबार कात्तिक ७ गते देखापरेको छ। यसअघि आश्विन ८ गते शनिबारको दिन एक कोरोना मृत्यु भेटिएको थियो। यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ।

गत हप्ता देशभरि जम्मा २८४४ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ५७१७ थियो। साप्ताहिक परीक्षण संख्या भने विगतभन्दा हाल निकै कम हुँदै आएको छ।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र दैनिक कोरोना संक्रमण कम हुँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा गत हप्ता, कात्तिक ६ देखि १२, साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ताअघिको भन्दा निकै कम छ। त्यस्तै औसत साप्ताहिक संक्रमण दर पनि दुई हप्ताअघिको भन्दा धेरै घटेको छ। यसरी एक महिनादेखिको प्रवृत्ति हेर्ने हो भने साप्ताहिक कुल संक्रमण संख्या र औसत साप्ताहिक संक्रमण दर दुवै क्रमशः बढ्दै गएकोमा गत हप्ता यी दुवै फेरि ओरालो लागेको छ। त्यस्तै कोरोना मृत्यु शून्यप्रायः भइसके पनि फाट्टफुट्ट मृत्यु देखिने क्रम जारी नै छ ।

चाडपर्व सकिएसँगै कोरोना संक्रमणमा पनि कमी आएको छ भने परीक्षण निकै कम गरिएको हुनाले पनि संक्रमण नदेखिएको हुन सक्छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

कात्तिक १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्