उम्मेदवारी खारेजीविरुद्ध कार्कीले दायर गरेको रिट न्यायाधीश चुडालको इजलासमा

डा. तोसिमा कार्की। फाइल तस्बिर।

काठमाडौँ – आफ्नो उम्मेदवारी खारेजीविरुद्ध तोसिमा कार्कीले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ।

निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार खारेज गरेको थियो। मेडिकल काउन्सिलको सदस्य पदमा बहाल रहेकै अवस्था प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको हुँदा लाभको पदमा रहेको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरेको हो।

कार्कीले सोमबार सर्वोच्च अदालतमा आयोगको उक्त निर्णयविरुद्ध रिट निवेदन दिएकी थिइन्। कार्कीले गत भदौ २८ गते आफू काउन्सिलको सदस्य रहेको हुँदा उम्मेदवार बन्न पाउन वा नपाउने बारे प्रष्ट पारी दिन आयोग समक्ष आग्रह गरेकी थिइन्। तर आयोगले त्यसबारे कुनै जवाफ दिएको थिएन।

यस्तै ‘नो नट अगेन’ अभियानबारे निर्वाचन आयोगले व्यक्त गरेको धारणाप्रति वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदन पनि न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुँदैछ।

राजनीतिक दलका शीर्ष नेताहरुलाई मंसिर ४ गते हुने चुनावमा पराजित गरौँ भन्ने अभियानकाका रुपमा सामाजिक सञ्जालमामा चलाइएको ‘नो नट अगेन’माथि कारबाही गर्ने चेतावनी आयोगले दिएको थियो।

आयोगले साइबर क्राइम अन्तरगत कारबाही गर्ने चेतावनी दिँदै कुनै व्यक्तिविरुद्ध अभियान नचलाउन भनेको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो। सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगको कार्यले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको जिकिर गर्दै रिट निवेदन दिएका हुन्।

कात्तिक १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्