टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा

फाइल फोटो

काठमाडौँ – नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ। सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो।

फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्। टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार समस्यामा परेका छन्।

दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूर सञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए।

‘फाइबर सेवामा खराबी आएपछि दिक्तेलबजारमा बाइपास सेवा खुला गरिएको छ,’ उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनःसञ्चालनमा आउने अपेक्षा गरिएको छ।’

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन टेलिकमले गत वर्षको चैतदेखि फाइबर सेवा सञ्चालनमा ल्याएको थियो। टेलिकमले सञ्चालनमा ल्याएको कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्ने भएपछि सेवाग्राहीसमेत लाभान्वित भएका थिए।

दश स्थानीय तह रहेको जिल्लामा अहिले एनसेल मोबाइल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट भने सञ्चालनमा रहेका छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा पर्दै आएका छन्। रासस

कात्तिक २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्