प्रिय बालसखी
अब समय
चीँ मुसीको रहेन छ
गुच्छा र गट्टाको पनि रहेन छ
बरामबाजी, कबड्डी, चुङ्गी
सब्बै सब्बै हराएछन्
गाउँ गाउँ नै रहेन छ!

टेक्नोलोजी नामको भाइरसले
खर्लप्पै निले छ
हाम्रो प्राकृतिक खुसी
हाम्रो आफ्नोपन
हाम्रो राम्रोपन
हाम्रो गाउँलेपन
सब्बै सब्बै।

तिमी र म चारी खेल्ने
चौपारीको पिपल बुढाे भएछ
चौपारी पनि अस्तव्यस्त रहेछ
बच्चामा पौडी खेल्न सिकाउने पोखरी
पानी सुकेर बरबोटे आमाका पैताला जस्तै भएछन्।
फुटेका, टुटेका, अस्तव्यस्त
खै कस्ता-कस्ता
थुप्रै दर्दको भारी बोकेका जस्ता।

उबेला हामी
चीँ मुसी चीँ चीँ
तेरो दाइ
मेरो दाइ
माछा मार्न गाछ
तँलाई झोल नै झोल
मलाई झाम्टै झाम्टा
भत्ले भत्ले भत्ले गर्ने खेल
हाम्रो गाउँका केटाकेटीलाई थाहै रहेन छ
यिनेरू त फ्रि-फायर, कार्टुन
र पब्जीमा रमाउने रहेछन्।

स्कूले नानीहरू
बुक भन्दा ज्यादा
टिकटक र फेसबुक
हेर्न जान्दा रहेछन्।

खै कता हराए
चीँ मुसी चीँ
कुखुरी काँ
वक्कल दोक्कल
इन्टु मिन्टु
ताराबाजी लै लै?

सब्बै प्रविधिको लहलहैमा विलीन भएछन्।
सबै आधुनिकताको जगमा पुरिएछन्
अब नभेटिने गरी
चीँ मुसी चीँ चीँ
सायद कहिल्यै नभेटिने गरी।

कात्तिक २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्