गोदावरीमा ‘शरद ऋतु’ हाइकु यात्रा सम्पन्न

काठमाडौँ – नेपाल हाइकु केन्द्रको आयोजनामा ‘शरद ऋतु’ हाइकु यात्रा सम्पन्न गरिएको छ।

हरेक ऋतु परिवर्तनमा प्राकृतिक वातावरणमा विचरण गरी स्थलगत रुपमै हाइकु लेखिने र वाचन पनि गरिने ऋतुगत हाइकु यात्रा अन्तर्गत शरद ऋतुको अन्त्य हुने क्रममा गोदावरीको बोटानिकल गार्डेनमा यो यात्रा आयोजना गरिएको हो।

यात्रामा सहभागी साहित्यकारहरूले प्रकृति, वनस्पति, चराचुरुङ्गी, जीवजन्तु, मानव जीवनशैली, वातावरण र भौगोलिक अवस्थालाई बिम्ब बनाएर तत्काल अनुभूति गरेका कुराहरूलाई हाइकुमा उतारेका थिए।

केन्द्र अध्यक्ष प्रा. राम कुमार पाँडेले प्रकृतिको स्पर्सले नै जीवनको वास्तविक स्वाद लिन सकिने हुनाले स्थलगत रचनालाई प्राथमिकता दिइएको जानकारी गराए।

उपाध्यक्ष मित्रबन्धु पौडेलले छोटो तर खँदिलो अभिव्यक्तिलाई प्राकृतिक बिम्ब ‘किगो’सँग जोडेर व्यक्त गर्न सक्ने कुशलता नै हाइकुको खास विशेषता रहेको बताए।

एक घण्टाको यात्रापछि साहित्यकारहरू डा. बम बहादुर जिताली, विष्णु बहादुर सिंह, शिरोमणि दवाडी, चन्द्रकला शाह, त्रिभुवन चन्द्र वाग्ले, टेक बहादुर लौडारी, आदेश आचार्य, चिरञ्जीवी न्यौपाने, कपिल भण्डारीलगायत सहभागी सबैले तत्काल रचना गरेका १०/१० हाइकु सुनाएर कार्यक्रम टुङ्याइएको थियो।

तिब्बत हुँदै जापानबाट लोकप्रियता प्राप्त गरेको हाइकु १७ अक्षरमा लेखिने खँदिलो कविता मानिन्छ। नेपालमा नेपाल हाइकु केन्द्रले यसलाई संस्थागत प्रवर्द्धन गर्दै आएको छ।

कात्तिक २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्