पर्सा-४ को ‘क’ मा गठबन्धनका दुई उम्मेदवारलाई स्वतन्त्रको कडा ‘टक्कर’

वीरगञ्ज – आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा-४ काे ‘का’ उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ।
प्रदेशसभामा भिडिरहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको हाे।
यस क्षेत्रमा दुईवटा दलीय गठबन्धनका उम्मेदवार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी कूल १० जना चुनावी मैदानमा छन्। यहाँ पहिले जितिसिकेका नेताहरूसमेत फेरि उम्मेदवार बनेका छन्।
पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता शंकर चौधरी एमाले-जसपा गठबन्धनबाट जयप्रकाश थारु उम्मेदवार छन्। यी दुई जनालाई भने कडा टक्कर स्वतन्त्र उम्मेदवार वीरेन्द्रप्रसाद यादवले दिँदैछन्।
गठबन्धनका उम्मेदवार चौधरी ०७४ सालमा यसै क्षेत्रबाट जितेका थिए। सो बेला उनले अहिले एमाले-जसपा गठबन्धनबाट उम्मेदवार रहेको जयप्रकाश थारुलाई हराएका थिए। चौधरीले ७ हजार ४८८ मत ल्याउँदा थारुले ७ हजार ४० मत प्राप्त गरेका थिए। अहिले फेरि यी दुवैजना आमने-सामने छन्।
उम्मेदवार चौधरीले आफू प्रदेशसभा सदस्य हुँदाखेरि एक रुपैयाँको पनि भ्रष्टाचार नगरेको, सबै ध्यान जनताको विकासमै केन्द्रित गरेकाे बताउँदै यसपालि फेरि पनि जित्ने दावी गरे।
जनताको पैसा नै खाएर विकास गर्ने नेता आफू नभएको र आफ्नो कार्यकालमा हरेक जनताको सेवा निष्पक्ष रूपले गरेकाले जनता आफ्नो पक्षमा रहेको उनकाे भनाइ छ।
‘शंकर चौधरीले जनताको एक रुपैयाँ पनि खाएको छैन, सारा बजेटबाट विकासको काम गरेको छ। अहिले जनताले नै यसाे भन्दैछन्। मेरो पक्षमा क्षेत्रका जनताहरू छन्, म जित्नेमा ढुक्क छु’, उनले भने।
एमाले-जसपा गठबन्धनका उम्मेदवार जयप्रकाश थारु एमाले पर्साका अध्यक्षसमेत हुन्। संविधानसभा सदस्य भएका थारुले यसपालि जनताले आफूलाई मत दिने बताए।
उनले क्षेत्रमा रहेको ठोरीलाई पर्यटकीय स्थल बनाउने, अधुरा सडकहरूकाे निर्माण सम्पन्न गर्ने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने उद्धेश्य आफूले राखेकाले जनताले मत दिने उनकाे भनाइ छ।
‘मैले संविधानसभा सदस्य हुँदाखेरि नै विकासका काम गरेकाे थिएँ। ती काममध्ये केही अधुरा छन्, त्यसलाई पूरा गर्नका लागि जनताले मत दिन्छन्’ , थारुले भने।
यी दुवैजनालाई स्वतन्त्र उम्मेदवार रहेका वीरेन्द्रप्रसाद यादवले कडा टक्कर दिने आँकलन गरिएको छ। यादव लामो समयसम्म मधेसवादी दलमा थिए। तर, मधेसवादी दल मुद्धाबाट भट्केको भन्दै उनी दल त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे। तर, गठबन्धनका कारण यो क्षेत्र माओवादीले नपाएपछि यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
उनले आफू पहिलेदेखि यस क्षेत्रका जनताको विकासका लागि चुनाव नलडे पनि काम गर्दै आएकाले जित्ने दाबी गरे। उनले जनताहरूको विकासका लागि दिनरात खटेको व्यक्ति भएकाले आफूलाई जनताले रुचाएको जिकिरसमेत गरे।
दलबाट उम्मेदवार रहेकाहरू यसअघि पनि जितिसकेको तथा विकासका कार्य गर्नुभन्दा पनि आफ्नै विकासमात्रै गरेकाले जनता पनि यसपालि दल छाडेर स्वतन्त्रको पक्षमा भएको उनको भनाइ छ।
यादवले भने, ‘अहिले दुई गठबन्धनबाट जो-जो उम्मेदवार छन् उनीहरू यसअघि जितिसकेका उम्मेदवार हुन्। तर खाेइ जनताका कामहरू भएकाे? दलहरूले त गठबन्धन होइन, ठगबन्धन गरेका छन्, जनता ठग्नका लागि। यसपालि स्वतन्त्र उम्मेदवारलाई नै जनताले चुन्नेछन्।’
यसै क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिकाको बिजबनीया टोल निवासी रामदेव यादवले आफूले युवालाई मत दिने बताए। पहिले जितिसकेकाहरूले काम गर्न नसकेकाले यसपालि स्वतन्त्र नै आफ्नो रोजाइ भएको जिकिर गरे।
दलका उम्मेदवारहरू पहिलेदेखि नै जितेर गएका तर काम केही भएको छैन। यसपालि उनीहरूलाई मत नदिने यादवको भनाइ थियो।
‘हामी स्वास्थ्यकाे क्षेत्रमा विकास देख्न चाहन्छाैँ, गर्भवती महिलाहरूलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु हुन्छ। यही बर्थिङ सेन्टर भए राम्रो हुन्थ्यो। यससँगै हामीहरूलाई शिक्षा, कृषिलगायत अन्य क्षेत्रमा पनि विकास चाहिन्छ,’ उनले भने।
पहिले पूराना नेताहरूलाई भोट दिँदा केही पनि हुन सकेन। त्यसैले यसपटक नयाँ युवालाई भाेट दिने साेंच बनाएकाे स्थानीय गिरजा रामले बताए।
नयाँलाई जिताउँदा केही न केही प्रगति होला भन्ने लागेकाले नयाँलाई मत दिने विचार उनकाे छ।