‍धनगढी – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको विकास एमालेले मात्र गर्न सक्ने बताएका छन्।

शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले डोटीको विकासको जिम्मा अब एमालेले लिने बताए। उनले भने, ‘डोटी सुदूरपश्चिम प्रदेशको पुरानो राजधानी हो, यहाँ धेरै विकास गर्न आवश्यक छ, अब एमालेले गर्छ।’

उनले एकीकृत समाजवादीका नेता प्रेम आलेले देशकै बेइज्जत गरेको बताए। उनले भने, ‘तिनी मैले आफैले हस्ताक्षर गरेको मान्छे हुन्, आफैले सही गरेर उम्मेदवारी दिएको मान्छेको अहिले भाषा सुन्नुस्। डोटीको मात्र होइन सिंगो भाषा संस्कृतिको बेइज्जत गरेका छन्। के हो मन्त्रीको भाषा, विश्वभरिबाट उनलाई हटाउन भनियो। आन्दोलन र पार्टीको माया नगर्ने विकाससँग माया नगर्ने स्वार्थी तत्वहरुलाई मत दिनु हुँदैन। जमानतभन्दा तल पार्नु पर्छ।’

तत्कालीन मन्त्री रहेकै बेला आलेको कुनै बेला बोलेको अश्लील गाली सामजिक सञ्जालमा भाइरल भएको थियो। त्यसैलाई इंगित गर्दै ओलीले आलेले देशकै बेइज्जत गरेको बताए।

अहिले डोटीबाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट एमालेविरुद्ध आले मैदानमा छन्।ओलीले कुनै हालतमा पनि यसपटक आलेलाई संसद्‌मा आउन नदिनका लागि पनि एमालेका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे। डोटीमा एमालेका तर्फबाट संघीय सांसदका लागि गौरी ओली उम्मेद्वार रहेकी छन्।

कात्तिक २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्