कोरोना संक्रमण विश्वबाट हराउन लाग्यो भन्दाभन्दै पछिल्लो समय विश्वका विभिन्न देशमा यसको महामारी कायमै देखिन्छ।

कोरोना प्यान्डेमिकको सुरुवातीदेखि विभिन्न समयमा विभिन्न भौगोलिक क्षेत्रमा प्यान्डेमिक लहर आउने जाने क्रम चलिरह्यो। फरक–फरक समयमा फरक–फरक ठाउँमा प्यान्डेमिकका उच्च लहर आए। यसरी लहर आउने जाने क्रममा सुरुदेखि हालसम्म लगभग निरन्तर संक्रमण संख्या उच्च नै रहेको क्षेत्र युरोप नै हो।

तर पछिल्लो समय युरोपबाहेक पश्चिमी प्यासिफिक क्षेत्रमा कोरोना संक्रमणले निरन्तर आक्रमण गरिरहेको छ। पश्चिमी प्यासिफिक क्षेत्र भन्नाले प्यासिफिक महासागरको पश्चिम भाग भन्ने बुझिन्छ जुन उत्तरमा चीन र जापान र दक्षिणमा अस्ट्रेलिया नजिक पर्छ।

यस क्षेत्रको उत्तरदेखि दक्षिणसम्म जापान, दक्षिण कोरिया, चीन, ताइवान, भिएत्नाम, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलियालगायत केही स–साना टापु पर्छन्।

प्यान्डेमिकको सुरुवाती अवस्थामा कोरोना संक्रमणको हिसाबले पश्चिमी प्यासिफिकक्षेत्र शान्त नै रह्यो करिब पहिलो डेढदेखि दुई वर्ष। त्यतिबेला यस क्षेत्रमा अधिकतम करिब ८०००० दैनिक नयाँ संक्रमण र ३०० दैनिक नयाँ मृत्यु देखिने गरेको थियो। त्यतिबेलासम्म युरोप, अमेरिका र दक्षिण एसियामा प्रसस्त कोरोना संक्रमण देखा परिसकेको थियो। तत्पश्चात् अन्यत्र क्रमशः कोरोना संक्रमण कम हुँदै गए पनि पश्चिमी प्यासिफिक क्षेत्रमा भने कोरोना संक्रमण खासै कम हुन सकेन बरु उल्टै त्यस क्षेत्रमा अति ठुल्ठूला प्यान्डेकिम लहर आउन थाले।

यस क्षेत्रमा सन् २०२२ को सुरुवातीसँगै हालसम्म केही ठुल्ठूला प्यान्डेमिक लहर आए जुन त्यसभन्दा पहिला कहिल्यै आएको थिएन। त्यतिबेला एकै दिन ९००००० भन्दा धेरै नयाँ संक्रमण र १२०० भन्दा धेरै कोरोना मृत्यु देखा परे।  यसरी पछिल्लो अवस्थामा कोरोना भ्याक्सिनले पनि विश्वब्यापी ब्यापकता पाएको अवस्थामा विश्वका धेरै भूभागमा कोरोना संक्रमण हराइसकेको अवस्थामा पनि यस क्षेत्रमा कोरोना संक्रमण खासै घट्न सकेको छैन।

पछिल्लो समय यस क्षेत्रमा विश्वको दैनिक कुल कोरोना संक्रमणको एक तिहाइदेखि आधासम्म संक्रमण देखिने गरेको छ। स्मरण रहोस्, यस क्षेत्र विश्वकै अति कसित क्षेत्र मध्ये पर्दछ र यहाँ विश्वको करिब २०% भन्दा कम जनसंख्या छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको चित्र पाठकसमक्ष पुर् याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो प्रबृत्तिको छ। दक्षिण एसियाको पछिल्लो करिब एक महिना, सन् २०२२ अक्टोबर १३ देखि नोभेम्बर ९(२८ दिन )कोकोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १५०० संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै, दक्षिण एसियामापछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब  २० मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नया संक्रमण

सन् २०२२ नोभेम्बर ६ देखि १२ (बि.सं २०७९ कार्तिक २० देखि २६जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएकोछ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, कार्तिक २६ गते शनिबारसम्म, देशभरि ८४ जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या १०००७९२ पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः १६७र१२५थियो।

त्यस्तै चित्र न.२ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ।

गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.१% देखि अधिकतम२.१३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर१.५३% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः २.९५% र ४.२४%थियो।

नेपालमा दशैँलगायत पर्व आगमनसँगै डेढ महिनाभन्दा लामो समयदेखि केही बढ्दै गएको कोरोना संक्रमण संख्या पर्वको समाप्तिसँगै घट्दै गएको छ।

गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ।

गत हप्ता देशभरि  जम्मा ५२८७ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ५६८१ थियो।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा निकै कमी आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ।

नेपालमा गत हप्ता,  कार्तिक २० देखि २६,साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ताअघिको भन्दा निकै घटेको छ।

औसत साप्ताहिक संक्रमण दर पनि घट्ने क्रम जारी छ। दशैं र तिहारको बेला बढेको दैनिक संक्रमण संख्या र संक्रमण दर हाल घट्दै गएको देखिएको छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत  गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

कात्तिक २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्