‘मधुमेहले आँखामा असर पुर्‍याउँछ भन्ने कुरा धेरैलाई थाहा छैन’

काठमाडौँ – मधुमेहले आँखामा असर गरेको अन्तिम अवस्थामा मात्र मधुमेहका बिरामी आँखा अस्पताल पुग्ने गरेको आँखा पर्दा रोग विशेषज्ञ डा. रवा थापाले बताएकी छन्।

उनले भनिन्,‘मधुमेहले आँखामा असर पुर्‍याउनेबारे धेरै जानकार छैनन्। जसले गर्दा उनीहरु आँखा खराब भइसकेपछि मात्र अस्पताल पुग्ने गरेका छन्।’

विश्व मधुमेह दिवसका सन्दर्भमा आइताबार तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा. थापाले मधुमेहका कारण अन्धोपना हुन सक्ने भएका कारण मधुमेह रोगको पहिचान भएपछि नियमित रूपमा आँखाको परीक्षण गराउन आवश्यक रहेको बताइन्।

उनका अनुसार मधुमेह नेपालमा बढ्दै गएको छ। सहरी क्षेत्रमा ४० वर्षभन्दा माथि १९ प्रतिशत र ग्रामीण भेगमा २ दशमलव ५ जनामा मधुमेह देखिने गरेको छ।

मधुमेह अन्धोपना, मिर्गौलाले काम नगर्ने, खुट्टा काट्नुपर्ने, हृदय रोग, बिरामीको असामयिक निधनको प्रमुख कारण मानिने गरेको उनले बताइन्।

प्रतिष्ठानले ‘मधुमेह सेवामा पहुँच बढाऔँ, सुरक्षित भविष्यका लागि मधुमेहबारे जानौँ’ भन्ने नाराका साथ कात्तिक २५ गतेदेखि मङ्सिर १ गतेसम्म मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा मनाइरहेको छ।

मधुमेह दिवस हरेक वर्षको नोभेम्बर १४ मा मनाइन्छ।

कात्तिक २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्