गर्भावस्थामा मधुमेह अनि खानपान र बदलिँदो जीवनशैली (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पछिल्लो समय मधुमेहको समस्या बढ्दो रहेको चिकित्सकहरूले बताएका छन्। अझ गर्भवती हुनुअगाडि मधुमेह नभएका धेरैलाई मधुमेह हुने गरेको पाइएको छ।

गर्भावस्थामा उनीहरूको खानपान र बदलिँदाे जीवनशैलीका कारण यो समस्या बढ्दो देखिएको आरुष लाइफ स्टायल हस्पिटलकी कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. सुकान्ती शाह बताउँछिन्।

गर्भवती भएका बेला ‘दुई जीउ’का लागि खाना खानुपर्ने भन्दै आवश्यकताभन्दा धेरै खानेकुरा खुवाउने गरिन्छ। यसरी खानुलाई चिकित्सकहरू राम्रो रूपमा लिँदैनन्। शरीरलाई चाहिनेभन्दा बढी खानेकुरा खानाले गर्भवतीको स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने डा. शाहले बताइन्।

उनले भनिन्, ‘परिवारका कुनै पनि सदस्यलाई मधुमेह छैन भने गर्भवती भएका बेलामा मधुमेहका लक्षण नदेखिन सक्छन्। गर्भावस्थामा मधुमेहको जाँच गर्न अत्यन्तै आवश्यक छ।’

पछिल्लो समय गर्भवती भएकालाई मधुमेहको जाँच अनिवार्य रूपमा गर्ने गरिन्छ। र, यो अत्यन्तै आवश्यक पनि छ।

धेरै गर्भवतीमा मधुमेहका लक्षण नदेखिए पनि कतिलाई अन्य व्यक्तिलाई जस्तै मुख सुक्ने, छिनछिनमा पिसाब लाग्ने, घाउ निको नहुने, घाँटीमा मुसा आउनेजस्ता लक्षण देखिन सक्छ।

डा. शाहका अनुसार गर्भावस्था भनेको आफैँमा नाजुक अवस्था हो। एउटा शरीरमा अर्को नयाँ शरीर बनिरहेको हुन्छ। जसले गर्दा गर्भवतीलाई मधुमेह भए पनि उनीहरूलाई औषधी दिन मिल्दैन।

उनले भनिन्, ‘कुनै-कुनै गाइडलाइनमा औषधी दिन भनिए पनि त्यसको भ्रूणलाई जटितला हुने सम्भावना धेरै हुन्छ।’

गर्भवती अवस्थामा मधुमेह देखिएमा उनीहरूको उपचार पद्धति सामान्य व्यक्तिको भन्दा फरक हुने गर्छ। उनीहरूले चिनीलाई नियन्त्रणमा राख्न जरुरी हुन्छ।

त्यस्तै, कतिपयलाई भने इन्सुलिन दिने गरिन्छ। यो कस्तो अवस्थामा दिन सकिन्छ भन्ने विस्तृत जानकारी डा. शाहसँग गरिएको भिडियो कुराकानीमाः

 

कात्तिक २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्