अभिनेता प्रदीप खड्काले नवलपरासी पुगेर मागे विनोद चौधरीलाई भोट

काठमाडौँ–अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेर भोट मागेका छन्।

आज मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा अभिनेता खड्का पुगेका हुन्।
प्रदीपलाई आयोजकले मञ्चमै आसन ग्रहण गराएका थिए।

कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड भन्दा पछाडिको लहरमा बसेका थिए।

प्रदीपले आमसभालाई सम्बोधन गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई आग्रह गरे। यसअघि राजनीतिमा नखुलेका प्रदीपले आगामी चुनावमा गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन्।

भारतबाट स्वदेश फर्किएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन्।

कात्तिक २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्