पाकिस्तान-नेपाल मैत्रीपूर्ण खेल आज: प्रतिबन्धपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडाैँ- पछिल्ला केही महिनालाई मात्रै हेर्ने हो भने नेपाली राष्ट्रिय फुटबल टिम विभिन्न उतारचढावबाट गुज्रिएको छ। लगातार फरक प्रशिक्षकको प्रशिक्षणमा भिज्नुपर्ने चुनौती एकातिर रहँदा खेलाडी पलायनको विकराल समस्या नेपालका लागि अर्को चुनौतीकाे रूपमा अघि आएको छ।
पाकिस्तानले भने फुटबलमा फरक संघर्षबाट राहत महसुस गरेको छ। अर्थात् पाकिस्तान फिफाको प्रतिबन्धपछि पहिलो पटक मैदानमा उत्रिँदा पुरानो प्रतिद्वन्द्वी नेपालविरुद्ध जितभन्दा पनि एउटा टिम निर्माणको प्रतिक्षामा हुनेछ।
किनकि पछिल्ला तीन वर्ष पाकिस्तानले राष्ट्रिय टिम बनाएर अभ्यास गर्न पाएको छैन। तर व्यक्तिगत रूपमा भने खेलाडीले निरन्तर प्रदर्शन गरेका छन्। युरोपियन देशमा गएर पनि पाकिस्तानी खेलाडीले व्यक्तिगत रूपमा प्रदर्शको अवसर पाएका छन्।
त्यसैले पाकिस्तान आफ्नो बलियो टिम निर्माणलाई नेपाल विरुद्धको खेललाई प्रयोग गर्ने प्रयासमा हुनेछ।
पाकिस्तान आफ्नो बलियो स्क्वाडको खोजीमा रहँदा नेपाली खेलाडीहरू भने एकपटक पुन: आफूलाई मैदानमा खेलाडी पलायनको घाउबाट माथि उठाउँदै विकल्प पर्याप्त रहेको सन्देश दिन चाहन्छ।
कम्तीमा त्यसका लागि नेपालले पाकिस्तानविरुद्ध जितका लागि नै खेल्नुपर्छ। पाकिस्तानविरुद्धकाे खेलमा राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका रोहित चन्द भन्छन्, ‘हाम्रा लागि पक्कै समस्या हुनेछ। खेलाडीको पलायनका बाध्यता आफ्ना ठाउँमा भए पनि नियमित प्लेइङ सेटमा पर्ने खेलाडीको अभाव टिममा हुने नै छ।’
तर, कप्तान चन्द पहिलो पटक आफ्नो कप्तानीलाई राम्रो बनाउने प्रयास गर्नेछन्। उनले भने, ‘मैले कप्तानको रूपमा पाएको अवसरलाई खुसीका रूपमा हेरेको छु। तर, त्योभन्दा खुसी भनेको नियमित रूपमा देशका लागि खेल्न पाउनुमा लाग्छ।
उनले फुटबल टिम खेल भएको भन्दै सबैको भूमिका मैदानमा कप्तानको जस्तै हुने भन्दै सबै खेलाडीले शतप्रतिशत दिएर मैदानमा उत्रिने बताए।
त्यसो त पहिलो पटक नेपाली राष्ट्रिय टिमलाई समालेका प्रशिक्षक प्रवेश कटुवालले आफ्ना लागि राष्ट्रिय टिमलाई समाल्ने मौकालाई अवसरका रूपमा प्रयोग गर्ने बताए।
‘स्वाभाविक रूपमा नेपाली टिमको छनोटदेखि सबै अधिकार मेरो नै हो। त्यसैले यसको हार र जितको जस अपजस पनि मेरो नै हो। त्यसैले एउटा राम्रो टिम खेल खेल्दै सुखद नतिजाको प्रयास नै रहने छु’, उनले भने।
यता पाकिस्तानका प्रशिक्षक सहजात अनवरले पाकिस्तानी फुटबल पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिएको भन्दै अब लयमा फर्किने विश्वास व्यक्त गरे।
उनले भने, ‘एन्फाले पाकिस्तानसँगको खेल आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु। पाकिस्तान एक खराब समयबाट गुज्रियो, अब हामी हाम्रो लय समाएर मैदानमा उत्रिने छौँ।’
डेनमार्कमा खेल्दै आएका पाकिस्तानका कप्तान हसन बसिरले पाकिस्तान एक खराब अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान आफ्नो पुरानो विगत दोहोर्याउन मैदानमा उत्रने बताए।
घरेलु दर्शकमाझ पाकिस्तानले पनि आफ्नो राम्रो खेल प्रदर्शन गर्ने उनकाे भनाइ छ।
नेपाल र पाकिस्तानको हेड टु हेड
नेपाल र पाकिस्तानबीच अहिलेसम्म कुल १६ खेल भएका छन्। जसमा नेपालले ४ खेलमा जित निकाल्दा पाकिस्तानले ७ खेलमा जित हासिल गरेको छ।
दुई टिमबीच ५ पटक बराबरी भएको छ। पछिल्लो पटक २०१८ मा भएको साफ च्याम्पियनसिप भिडन्तमा पाकिस्तान २-१ ले विजयी भएको थियो।