जनताका समस्या नै मेरा समस्या हुन्ः देवेन्द्र पौडेल

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन्।

गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताए।

उनले लामो आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि वाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे।

विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकासका लागि धेरै काम गरेको दाबी गरे।

‘विपक्षीले केही नपाएर अर्गानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,’ उनले भने, ‘विपक्षीलाई ठाडो चुनौती दिन चाहन्छु जिल्लाको विकासका लागि मेरोेजति भूमिका विपक्षीको छैन।’

उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओली देशको नेतृत्व गर्न असफल भएको आरोप लगाए।

चुनावका लागि मात्र गठबन्धन नभएको बताउँदै जनताका आधारभूत रुपमा उठाइएको साझा मुद्दाको रक्षाका लागि भएको बताए।

संविधान सभा सदस्य नरबहादुर पुनले अहिलेको निर्वाचन संविधान जोगाउने र सक्काउनेबीच भएको बताए। देशमा राजावादी र लोकतन्त्रवादीबीच चुनावी प्रतिस्पर्धा भएको बताउँदै गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए।

गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जितबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन्। जनताको सेवाका लागि राजनीतिमा आएको भन्दै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताए।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेललाई डाँडापारि भन्नेहरूका विरुद्ध आक्रोश व्यक्त गरे।

‘५ वर्षअघि देवेन्द्र पौडेललाई भोट हाल्ने एमालेका साथीहरूले अहिले डाँडापारि भनेर प्रचार गरिरहेका छन्,’ उनले प्रश्न गर्दै भने, ‘त्यसो भए डाँडावारिकै नरबहादुर पुनलाई अघिल्लो निर्वाचनमा किन भोट नहालेको?’

मंसिर १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्