जाडोमा छालालाई के गर्ने? के नगर्ने? (भिडियो)

काठमाडौँ – हामी दिनभर काम गर्छौँ। धुवाँधुलोले गर्दा घर पुग्दा कतिपयको शरीर चिलाइरहेको हुन्छ। शरीर चिलाउनेबित्तिकै धेरैजसोले साबुनले रगडेर नुहाउने गरेको पाइन्छ। तर त्यसो नगर्न चिकित्सकहरुले सुझाएका छन्।

जाडो सुरु भइसकेको छ। यो समयमा छालाको विशेष ख्याल राख्नुपर्ने हुन्छ। जाडो समयमा छालामा विभिन्न समस्याहरु देखिने गर्छन्। त्यसमध्ये एक छाला हुने सुख्खापना हो। छाला सुख्खा हुने व्यक्तिहरुले यो सयममा आफ्नो छालाको स्याहार गर्दा धेरै कुराहरुमा ध्यान पुर्‍याउनुपर्ने चिकित्सकले बताएका छन्।

उनीहरुका अनुसार साबुनपानीले शरीर रगडेर नुहाउँदा छाला झनै सुख्खा हुने समस्या बढ्ने गर्छ।

विभिन्न अध्ययन अनुसन्धानका अनुसार ८५ प्रतिशत मानिसको शरीरको फोहोरहरु पानीले मात्रै पखाल्न सक्छ भन्ने गरेको अल्का अस्पताल छाला रोग विशेषज्ञ डा. राजनबाबु तझ्या बताउँछन्। उनका अनुसार जाडो महिनामा पानीले मात्रै नुहाउने हो भने पनि शरीरलाई सुख्खा हुनबाट केही हदसम्म बचाउन सकिन्छ। छालाको स्याहार जाडोमा कसर गर्न सकिन्छ भन्नेबारे डा. राजनबाबु तझ्यासँग गरिएको कुराकानीः

जाडोमा कसरी छाला सुख्खा हुन्छ?


जाडो महिनामा वातावरण सुख्खा हुन्छ। त्यहीअनुसार शरीरले ‘रेस्पोन्स’ गर्न सक्दैन र छाला खुख्खा हुन्छ। ‘किम्यूडिटी’ घटिरहेको हुन्छ।

कहिलेकाहीँ वंशाणुगत रुपमा छाला सुख्खा हुने हुन्छ। तर कसैलाई पछि कुनै रोग लागेर वा कुनै औषधिको कारणले पनि छाला सुख्खा हुने भइरहेको भइरहेको हुन्छ।

हर्मोन कम भएको मानिसहरुलाई, मधुमेह भएका व्यक्तिहरुमा पनि सुख्खापना हुन सक्छ।

अर्को कुरा मानिसले कस्तो ठाउँमा काम गरिरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। घर बाहिरका गर्ने व्यक्तिहरु, दिनभरी हावामा हिँडिराख्नु पर्ने, बाइक चलाइरहनुपर्ने छ भने उनीहरुको छाला यसै पनि सुख्खा हुन्छ।

मानिसहरुको छाला सुख्खा मात्र नभएर छाला कालो हुने, चिलाउने या अरु छालासम्बन्धी एलर्जी तथा रोगहरु बल्झिन सक्छ, जोडा मौसममा।

छाला सुख्खा हुन नदिन के गर्ने?


जाडो महिनामा छालालाई बढी स्याहार चाहिन्छ। त्यो त्यति गाह्रो पनि छैन। छालामा ‘मोस्चराइजर’ लगाउनुपर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो। फेसवास, साबुनको धेरै प्रयोग गर्नु हुँदैन।

शरीर वा मुख धेरै खुख्खा भयो, चिलायो भने नुहाउने अनि बारम्बार मुख धुने, पानी धेरै प्रयोग गर्ने, साबुन फेसवास धेरै प्रयोग गर्ने चलन छ। तर दैनिक नुहाउनका लागि फेसवास र जीउमा साबुनको आवश्यकता पर्दैन।

जाडो महिनामा पानीको मात्र प्रयोग गर्दा पनि सबै कुरा पुग्ने हुन्छ। पानीले मात्र नुहाए पनि पुग्छ। तर पानीमा धेरै बेरसम्म भने बस्नु हुँदैन। राम्रोसँग सफा हुनका लागि साबुनकै आवश्यकता पर्दैन।

‘प्राइभेट पार्ट’हरु स्मेल हुने भएका कारण हल्का साबुनको प्रयोग गर्न सकिन्छ। नुहाउनु पर्छ तर जाडो महिनामा धेरै नुहाउनु पर्दैन।

हाम्रो छालालाई पानी चाहिन्छ। अझ बिहानमा भन्दा पनि साँझमा नुहाउनु राम्रो हुन्छ। दिनभरीको काम, भागदौड, धुलोले थकान भइरहेका बेला हल्का मनतातो पानीले शरीर पखाले पुग्छ। पानीले मात्र नुहाउँदा शरीरलाई ‘रिल्याक्स’ हुन्छ।

नुहाइसकेपछि ‘मोस्चराइजर’ लगाउनु पर्छ। मोस्चराइजर नै लगाउनु पर्छ, भन्ने छैन तेल लगाउँदा पनि हुन्छ। तेल भने प्राकृतिक हुनु पर्छ। प्राकृतिक तेलको ‘साइड इफेक्ट’ हुँदैन। कतिलाई तेल मन नपर्न सक्छ। उनीहरुले लोसन लगाउन सक्छन्।

तेल अथवा मोस्चराइजर लगाउने तरिका छन्?


शरीर पुरै सुख्खा बनाएर लगाउने बानी धेरैजसोको हुन्छ, तर त्यस्तो गर्नु हुँदैन। जिउ पानीले पखालिसकेपछि शरीरमा हल्का पानी हुँदाहुँदै तेल अथवा मोस्चराइजर लगाउनु पर्छ। र बाँकी पानी आफै सुक्न दिनुपर्छ। यसरी ‘आईल डाइड्रेड’ भइरहन्छ। यस्तो दिनमा दुई पटक गरेको राम्रो हुन्छ, साँझ र बिहान उठेपछि। तर तेल वा मोस्चराइजर लगाउन चाहीँ लगाउनै पर्छ।

अर्को कुरा भनेको दिनमा दुई लिटर पानी पिउनै पर्छ। यो बानी बसाल्नै पर्छ। त्यस्तै ‘एन्टी अक्सिडेन्ट’ भएको कुराहरु खान सकिन्छ। जसले गर्दा छालामा चमक आउँछ।

त्यस्तै सुत्ने बेलामा ‘हिम्यूडी फायर’को प्रयोग गर्दा धेरै राम्रो हुन्छ।

हिम्यूडी फायर भनेको के हो?


यो भनेको हामी रुघा लाग्दा बाफ लिन्छौँ, त्यस्तै बाफ आइराख्ने मेसिन हुन्छ। त्यो बजारमा किन्न पाइन्छ। कोठामा हल्का बाफ फालिराख्ने मेसिन हुन्छ, त्यसलाई रातभरी कोठामा बालेर छोड्दिनु पर्छ। मेसिनले बाफ मात्र फाल्ने हो। त्यसले छालालाई ‘आईल डाइड्रेड’ राख्छ।

त्यसको आधुनिक तरिकाले आजभाेलि मानिसहरु पानीमा गुलाबलगायत विभिन्न कुराहरु मिसावट गरेर फेसमा ‘स्प्रे’ पनि गर्ने गर्छन्। मोस्चराइजरले शरीरमा पानीलाई ‘होल्ड’ गरेर राख्ने काम गर्छ। पानी हुँदाहुँदै प्रयोग गर्ने हो भने त्यसले लामो समयसम्म पानीलाई ‘होल्ड’ गरेर राख्छ, छाला राम्रोसँग ‘आईल डाइड्रेड’ हुन्छ। सुख्खापन हुँदैन। चिलाउने समस्या हुँदैन।

शरीर धेरै सुख्खा भएन भने कालो हुने समस्या पनि हुँदैन। र यसरी ‘मेन्टेन’ गर्न सकियो भने पछि गएर चाउरीपनाको समस्या पनि कम हुने गर्छ।

छालालाई स्वस्थ्य राख्न के नगर्ने?


शरीर अलिकति चिलाउनेबित्तिकै मानिसहरु साबुन लगाएर मनतातो पानीले बेस्सरी रगडेर सफा गर्ने वा नुहाउने गर्छन्। त्यसो गर्नु हुँदैन। त्यसो गर्दा छालालाई झनै ‘इरिटेसन’ हुन सक्छ।

हाम्रो छाला आफैमा यति बलियो हुन्छ कि यसले किटाणुहरुबाट हामीलाई यत्तिकै जोगाइरहेको हुन्छ। हामीलाई अरु केहीको आवश्यकता पर्दैन। छाला फोहोर भयो भनेर धोइरहने हो भने छाला झन् कमजोर हुन्छ र विभिन्न समस्या उत्पन्न हुने हुन्छ।

छालालाई ‘ओभर केयर’ गर्दा इन्फेक्सनलगायत अन्य समस्या उत्पन्न हुने सम्भावना धेरै हुन्छ।

कस्ता व्यक्तिले छालाको अझै बढी ख्याल गर्नुपर्छ?


उमेर बढ्दै जाँदा हाम्रो शरीर त्यति चिल्लो हुँदैन। ३०–४० वर्ष कटेपछि शरीर सुख्खा हुन थालिहाल्छ। त्यसमा पनि थाइराईडको समस्या देखियो, मधुमेह भयो भने अन्य व्यक्तिभन्दा दुई गुणाले छाला सुख्खा हुन्छ।

उनीहरु छालाको ख्याल राख्नका लागि तेल वा मोस्चराइजर लगाउनै पर्छ।

त्यस्तै शरीरको पानी कम गर्ने खालका विभिन्न रोगका औषधिहरुको प्रयोग गरेका छन् भने उनीहरुले पनि विषेश ख्याल राख्नु पर्छ।

अझ भनौँ न नेपालमा त्यति भित्रिसकेको छैन, जसलाई ‘एटोपीक डर्मटाइटिस्’ भन्ने रोग छ। जुन बच्चादेखि एकदमै ‘कमन’ छ। नेपालमा त्यस्तो धेरै छैन। पश्चिमा देशहरुमा धेरै नै छ, जहाँ एकदमै सफा छ। त्यहाँको बच्चाहरु बाहिर खेल्न पनि जाँदैनन, उनीहरुको खानपान पनि राम्रो हुन्छ, फोहोरसँग उनीहरु ‘कन्ट्याक’ नै हुँदैन।

तर नेपालमा ठ्याक्कै उल्टो छ। त्यसैले पनि नेपालमा ‘एटोपीक डर्मटाइटिस्’ खासै धेरै हुँदैन। हुन त अहिले नेपालमा पनि विदेशी चलन आइसकेको छ।

‘एटोपीक डर्मटाइटिस्’ भनेको सुख्खापनको ‘एक्सट्रिम फर्म’ हो। अलिअलि छाला सुख्खा हुँदा मोस्चराइजरले पुग्छ। तर सुख्खापनालाई रोक्न सकिएन भने औषधिको प्रयोग गर्नु पर्छ। तर औषधि पनि कति समय प्रयोग गर्ने भन्ने हुन्छ।

मंसिर २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्