स्वतन्त्र उम्मेदवार चढेको गाडीबाट डेढ लाख बरामद

महोत्तरी — बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योन्जन चढेको गाडीबाट प्रहरीले एक लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

पाँचे टोलमा शुक्रबार बेलुकी योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

महोत्तरी क्षेत्र नं १ ख का स्वतन्त्र उम्मेदवार योन्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले पैसा बोकेर हिँडेको पाइएपछि उक्त रकम बरामद गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।
बा१४च ८८७४ नम्बरको स्कर्पियोमा अन्य व्यक्तिलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरी छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए।

शनिबार स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए २५ हजार रुपैयाँसम्म जरिबाना गर्न सकिने उनले बताए।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा योन्जनबाट उक्त रकम फेला परेको प्रहरीको भनाइ छ।

मंसिर २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्