‘विदेश जाने मायालु’ गीत हिट तर ‘दीपक थापा’ गुमनाम

‘विदेश जाने मायालु तिमीलाई
सम्झना बारम्बार छ मेरो
तिम्रो साथीलाई के को पीर
जिउँदै मर्ने यो अभागी देखेर…’

यो गीत ४० को दशकमा निकै चर्चित थियो। जतिबेला लाहुरे हुने र विदेश जाने प्रचलन विस्तारै बढ्दो क्रममा थियो। त्यही परिवेशमा दीपक थापाले ‘विदेश जाने मायालु’ सिर्जना गरेर पोखरामा हुने कार्यक्रमहरूमा गाउन थाले।

रेकर्ड नहुँदै उनले पहिलोपटक डाँफे कला मन्दिर पोखराले आयोजना गरेको कार्यक्रममा ४१ वर्षअगाडि यो गीत सुनाए।

‘पहिलोचोटि गाउँदा नै धेरैले मन पराइदिए’, उनी सम्झन्छन्। त्यसपछि पोखरामा हुने हरेकजसो सांगीतिक कार्यक्रममा दीपकको यो गीत गुञ्जिन्थ्यो। यही एउटा गीतले उनलाई पोखरासँगै भैरहवा, बुटवल र धरानसम्म पुर्‍यायाे।

स्रोताले मन पराउन थालेपछि थापाले सन् १९९५ मा गीत आफ्नै स्वरमा रेकर्ड गराए। जुनबेला भिडियोको जमाना थिएन। रेडियोबाट उनको गीत बज्न थालेपछि जनजनको मनमनमा बस्न सफल भयो। गीत हिट भयो तर गायक दीपक थापालाई चिन्ने कमै थिए।

अझै पनि स्रोताले ‘विदेश जाने मायालु’ गीत सम्झन्छन् थापालाई झट्ट चिन्दैनन्।

‘विदेश जाने मायालु तिमीलाई गीतको गायक भनेपछि बल्ल चिन्छन्’, शुक्रबार पोखरामा उनी सुनिए।

गीतले चर्चा कमाएको झण्डै चार दशकपछि म्युजिक भिडियो तयार पारेर सार्वजनिक गरिएको छ। थापाले आफ्नै स्वरमा रिरेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका छन्।

पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतबाट थापाले नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताउँछन्।

‘त्यतिबेला भिडियोबिना चल्यो। पहिला रेडियोको जमाना थियो। अहिले पो भिडियोको जमाना आयो’, उनी भन्छन्, ‘भिडियो ल्यायो भने अहिलेको जेनेरेसनले चिन्ला कि भनेर ल्याए । अर्को जेनेरेसनले सुन्यो भने मेरो गीत अमर लाग्नेछ।’

‘विदेश जाने मायालु’ आफ्नै कथा भएको गायक थापा सुनाउँछन्।

‘हङकङमा स्कुल पढ्दा लब थियो। पछि उस्को बाउले लाहुरेलाई दिने भन्यो, ट्रयाजिटी पर्‍याे। खासमा बाउचाहिँ भिलेन बन्यो’, फ्ल्यासब्याक हुँदै लामो हाँसो गुञ्जियो।

उनले आफ्नो विछोडको घाउलाई मलम लगाउन गीत सिर्जना गरे। ‘मनको व्यथा गीतमा परिणत गरेको थिए। साँचो कथा भए गीत अमर हुने रहेछ। काल्पनिकभन्दा आफ्नै कथाले धेरैलाई छोयो’, उनले भने।

आफूले लेखेको शब्दमा अरूले फिलिङ्स दिन नसक्ने भएकाले जर्बजस्त आफैँले गाएको उनी सुनाउँछन्। अझै पनि आफ्नो स्वर गायक बन्न योग्य नभएको उनको ठहर छ।

अरूले फिलिङ्स दिन नसक्ने त थियो नै पहिलो गीत हिट भएर पनि आफू गुमनाम भएको इगो पनि ‘विदेश जाने मायालु’ मा जबर्जस्त स्वर दिनुको कारण हो। उनले सिर्जना गरेको पहिलो गीत ‘ऊ मेरो प्रियतम्’ (१९५२) ले गायिका सुक्मित गुरुङलाई हिट बनायो। दीपकलाई कसैले चिनेनन्।

‘गीत हिट भयो मेरो नाम मेन्सन गरेन। पछि मैले रिसैले गाएको हो। यहाँ त कम्पोजरहरूको नामै मेन्सन हुँदैन नि त। स्वर जस्तोसुकै होस् सुर र तालमा गाउन सक्नु लाग्यो र गाए’, उनले भने ।

म्युजिक भिडियो पोखरामै तयार गरिएको हो। रोहन नेपालीले निर्देशन गरेको भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, अरिशा गुरुङ र अनमोल राना फिचर्ड छन्। पोखरा आसपास छायांकन भएको भिडियोमा तीन पुस्ताको प्रेमलाई देखाइएको छ।

पश्चिमा गीतको प्रभाव बढ्दै जाँदा दीपकको नेपाली सांगीतिक क्षेत्रमा प्रवेश भएको थियो। ५० को दशकमा पोखरामा रेकर्ड हुने अधिकांश गीतका एरेन्जर उनै थापा हुन्।

थापाले सिर्जना गरेको पहिलो रेकर्ड भएकाे गीत ‘ऊ मेरो प्रियतम्’ हो। त्यसपछि ‘त्यसैले मायालु भनेर बोलाऊ कि’, ‘जलमा थलमा’, ‘आँखामा तिम्रो सम्झना छ’, लगायतका तीन दर्जन बढी उनको गीत बजारमा आएका छन्। उनी गायक कम कम्पोजर, एरेञ्जर, गिटारिस्टको रूपमा चिन्छन्।

मंसिर ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्