फिफा विश्वकपः पहिलो खेलमै फिक्सिङ हुने दाबी

कतार विश्वकप सुरु हुन एक दिन बाँकी छ। मैदानमा खेल सुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल सुरु भएको दाबी गरिएको छ।

रिपोर्टअनुसार आयोजक देश कतारले म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ। कतारले आफ्नो पहिलो खेलमा नै इक्वेडरलाई घुस दिएको आरोप लागेको छ।

ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्चका क्षेत्रीय डाइरेक्टर अमजद ताहाका अनुसार कतारले विपक्षी खेलाडीलाई घुस दिएको दाबी गरिएको छ।

अन्य गोप्य सुत्रको हवाला दिँदै इक्वेडरका आठ खेलाडीलाई ७.४ मिलियन डलर (करिब ९२ करोड रुपैयाँ) दिएको जनाइएको छ। त्यसका लागि यो खेल कतारले १-० ले जित्ने र निर्णायक गोल दोस्रो हाफमा हुने दाबी गरिएको छ।

फिक्सिङ रोक्न एफबीआईसँग सहयोग

फिफा विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि एफबिआइको सहयोग मागिएको छ। किनकि फिफाका अनुसार विश्वकपमा विश्वभर करिब १०० बिलियन डलर बराबरको रकम दाउ लगाइन सकिने जनाइएको छ।

म्याच फिक्सिङ रोक्नका लागि फिफाले पहिलो पटक विशेष टाक्सफोर्स बनाएको छ। जसमा बिटिङ मार्केटको मनिटरिङ गर्ने अन्तर्राष्ट्रिय फर्महरु स्पोर्टसराडार, इन्टरपोल, इन्टरनेशनल बिटिङ इन्ट्रिगिटी एसोसिएशन तथा एफबीआईलाई सहभागी गराइएको छ।

यी निकायले हरेक खेलको निगरानी गर्नेछन्। यो टास्क फोर्स गोलदेखि यलो कार्डमा समेत हुन सक्ने अनियमिततामा काम गर्नेछ।

मंसिर ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्