भाेट दिनु हाम्राे नैतिक र कानुनी जिम्मेवारी हाे: अध्यक्ष गोल्छा

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन्।

उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे।

देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरूलाई जिताउन आवश्यक रहेको उनकाे भनाइ छ।

अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे।

उनले भने, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउन सक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔँ। यो हाम्रो नैतिक जिम्मेवारी पनि हो। कानुनी जिम्मेवारी पनि हो। संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन।’

अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरे।

आज एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ। ‍

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्