आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडाैँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
वरिष्ठ उपाध्यक्ष ढकालले आइतबार बिहान काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए।
उनले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे।
उनले भने, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो। आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनूस्। नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ।’
ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रूपमा आ-आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन्।
आइतबार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन भइरहेको छ। साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ।