देशभर ४४ मतदानस्थलमा झडप, १५ ठाउँमा हवाई फायर

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनको क्रममा २५ जिल्लाका ४४ मतदानस्थलमा झडपको स्थिति सिर्जना भएको छ।

मतदानका क्रममा पार्टीका कार्यकर्ताबीच विवाद भएपछि ४४ मतदान स्थानहरुमा झडपको अवस्था सिर्जना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताएका छन्।

मतदान रोक्ने प्रयास भएपछि प्रहरीले १५ ठाउँमा भने गोली चलाएको डीआईजी राईले जानकारी दिए।

‘झडपको अवस्था सिर्जना भएपछि अवस्था सामान्य बनाउन प्रहरीले १५ ठाउँमा हवाई फायरसमेत गर्नुपरेको छ,’ उनले भने,’४४ स्थानमध्ये ३१ मतदानस्थलमा भने पुनः मतदान सुरु भइसकेको भन्ने जानकारी हामीलाई प्राप्त भएको छ।’

उनका अनुसार रौतहट, सिरहा, चितवन, दोलखा र बाजुरालगायतका जिल्लाहरुमा गोली चलेको हो।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्