नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

एक प्रतिशतभन्दा कममा झर्‍यो कोरोना पोजिटिभिटी दर

कोरोना संक्रमण र यसको प्यान्डेमिकको प्रभाव विश्वभरि नै कम हुँदै गइरहेको अवस्थामा पनि विश्वका केही भूभागमा  हाल पनि कोरोनाको नांगो नाच चलिरहेको छ। यस्ता ठाउँ या देशको कुरा गर्दा हाम्रो ठाउँबाट धेरै टाढा जानुपर्ने जरुरत छैन। हाम्रै एसियामा आज पनि कोरोना आतंक चलिरहेको छ।

पछिल्लो समय अत्यधिक कोरोना संक्रमण चलिरहेको पश्चिमी प्यासिफिक क्षेत्र हो भन्ने कुरा यस शृंखलाको अघिल्लो अंकमा पनि उल्लेख भइसकेको छ। पश्चिमी प्यासिफिक क्षेत्र भन्नाले जापान, चीन अस्ट्रेलिया आदि देशको नजिक पर्ने महासागर बुझिन्छ र त्यहाँ रहेका थुप्रै देशमध्ये एक हो दक्षिण कोरिया।

कोरोना प्यान्डेमिकको सन्दर्भमा दक्षिण कोरिया एक यस्तो देश हो जुन प्यान्डेमिक नियन्त्रणमा अब्बल गनिएको थियो। प्यान्डेमिक कालको सुरुवातीदेखि दुई वर्षभन्दा धेरै लामो समयसम्म कोरोना संक्रमण निकै कम या अन्यत्रको तुलनामा शून्यसमान थियो दक्षिण कोरियामा। त्यतिबेला त्यहाँ कोरोना संक्रमण नियन्त्रण गर्न सैनिक जवान तथा सैनिक नीति परिचालन गरिएको थियो।

प्यान्डेमिक सुरु भएको निकै लामो समयपछि जब विश्व कोरोना नियन्त्रणतिर उन्मुख हुन सुरु गरिरहेको थियो, सन् २०२१ को अन्त्यतिर, त्यतिबेला दक्षिण कोरियामा  कोरोना संक्रमण केही बढ्न सुरु गर्‍याे र सन् २०२२ को सुरुवाततिर यस शान्त भूमिमा संक्रमण यति बढ्यो कि एकै दिनमा ६ लाखभन्दा धेरै नयाँ संक्रमण देखा पर्‍याे जुन त्यस समयको विश्वको कुल दैनिक नयाँ संक्रमणको करिब एक तिहाइ थियो।

पाँच करोडभन्दा केही धेरै मात्र जनसंख्या भएको देशमा विश्वकै एक तिहाइजति कोरोना संक्रमण एकै दिन देखिनु भनेको नौलो मात्रै होइन अनौठो समाचार बन्यो। त्यतिबेला अघिल्लो दुई वर्षसम्म ४००० जति मात्र जम्मा कोरोना मृत्यु देखिएको सो देशमा ४ महिनाभित्र जम्मा मृत्यु संख्या पनि २०००० नाघेको थियो। चार महिना लम्बिएको सो पहिलो लहरमा डेढ करोडभन्दा धेरै नयाँ संक्रमण देखा परे भने १५००० भन्दा धेरैले त्यसबेला आफ्नो ज्यान गुमाए।

सन् २०२२ को जुलाईतिर त्यहाँ फेरि अर्को नयाँ कोरोना लहर आयो जुन तीन महिना लम्बियो र त्यतिबेला एक करोड नयाँ संक्रमण भेटियो जसमध्ये ५००० ले आफ्नो ज्यान गुमाए।

हाल पनि त्यहाँ अर्को सानो प्यान्डेमिक लहर चलिरहेको छ जसकारण दैनिक ६०००० नयाँ कोरोना संक्रमण र पचासौं नयाँ मृत्यु देखा परिरहेका छन्।

पछिल्लो समयसम्म त्यहाँ साढे २६ करोड कोरोना संक्रमण र २९०००  भन्दा धेरै मृत्यु भइसकेको छ। दक्षिण कोरिया जम्मा संक्रमित संख्याको हिसाबले विश्वमा छैटैँ स्थान र जम्मा मृत्यु संख्याको हिसाबले ३५औं स्थानमा छ। सन् २०२१ को अन्त्यसम्म दक्षिण कोरिया यस सूचीको निकै तल्लो स्थानमा थियो।

स्मरण रहोस्, दक्षिण कोरिया हालसम्म कोरोना भ्याक्सिन अत्यधिक मात्रामा लगाएको देशमध्ये पर्छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांक विभिन्न श्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्लडोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यस लेखको उद्ध्यश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो छ। दक्षिण एसियाको पछिल्लो एक महिना, सन् २०२२ अक्टोबर १३ देखि नोभेम्बर १६ (३५ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक ११०० जति संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमण घट्दै गएको छ।

त्यस्तै, दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमशः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक १० भन्दा कम मृत्यु देखिने गरेको छ।

नेपालको दैनिक नया संक्रमण

सन् २०२२ नोभेम्बर १३ देखि १९ (वि.सं २०७९ कार्तिक २७ देखि मंसिर ३ ) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, मंसिर ३ गते शनिबारसम्म, देशभरि जम्मा ५७ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००८४९ पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमशः ८४ र १६७ थियो।

त्यस्तै चित्र न.२ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ।  गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.५७% देखि अधिकतम १.८३% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १.११% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमशः १.५३% र २.९५ % थियो।

गत हप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ।

गतहप्ता देशभरि जम्मा५०९८पीसीआरपरिक्षण गरियो जुनसंख्यादुई हप्ताअघि५२८७थियो।

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा निकै कमी आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि घट्दै गएको देखिन्छ। नेपालमा गत हप्ता, कात्तिक २७ देखि मंसिर ३, साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ता अघिकोभन्दा निकै घटेको छ। औसत साप्ताहिक संक्रमण दर पनि घट्ने क्रम जारी छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

मंसिर ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्