स्वास्थ्य संस्था बन्द हुँदा बिरामीलाई सास्ती

हुुम्ला – जिल्लाभरि स्वास्थ्योपचारका लागि स्थापना भएका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले शास्ती खेप्नुुपरेको छ।

स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य बन्द भएपछि बिरामीले उपचार गर्ने कार्यबाट वञ्चित हुनुुपरेको हो। सिमकोट गाउँपालिका–७ का दमका बिरामी कालिबहादुुर शाहीले आफूले नियमित सेवन गर्ने औषधि सकिँदा स्वास्थ्य चौकीमा जाँदा बन्द रहेको बताउँदै आफू समस्यामा परेको बताए।

उक्त स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मी कार्यरत छन्। उनले सबै स्वास्थ्यकर्मी निर्वाचनमा खटिएको कारण स्वास्थ्य चौकी बन्द हुँदा आफू उपचारबाट वञ्चित हुनुुपरेको बताए। उनले कम्तीमा एक जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा बस्ने व्यवस्था गरेको भए यो समस्या नआउने बताए।

सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीसँग यसबारे बुझ्दा उनले स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य संस्था बन्द रहेको स्विकारे।

उनले गाउँपालिकामा आएको नामावली विवरण छानबिन नहुँदै कर्मचारी खटनपटन भएको र आफूसँग कुनै जानकारी नभएकाले स्वास्थ्य संस्थामा यस्तो समस्या आएको बताए। उनले कतिपय स्वास्थ्यकर्मी पहुँचकै भरमा निर्वाचनमा खटिने प्रवृत्तिले पनि निर्वाचनका बेला उपचारमा समस्या देखिएको बताए।

सिमकोट गाउँपालिकाभित्रका बाह्र स्वास्थ्य संस्थामध्ये चार वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र पाँचवटा सामुदायिक स्वास्थ्य इकाइ छन्।

जसमा डाँडाफया, स्याँडा, बरगाउँ र ठेहे स्वास्थ्य चौकीमा ६–६ जना, आठ सामुदायिक स्वास्थ्य इकाइमा र आधारभूत स्वास्थ्य केन्द्रमा दुई–दुई जनाको दरबन्दीमा स्वास्थ्यकर्मी कार्यरत रहँदै आएकोमा हाल अधिकाँसमा स्वास्थ्यकर्मी नहुँदा बन्द छन्।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका बबरजंग हमालले चोट लागेर घाउका लागि मलम (डिएफओ) लिन जाँदा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि रित्तो हातमा घर फर्केको गुनासो गरे। उक्त स्वास्थ्य संस्थामा दैनिक उपचारका लागि कम्तीमा १० देखि १५ जना स्थानीय सेवाग्राही धाउने गरेको भए पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेट्टाएपछि उपचारका लागि आएका बिरामी रित्तो हातमा फर्कन बाध्य हुँदै आएका छन्।

खार्पुनाथ गाउँपालिकामा एउटा सामुदायिक अस्पतालसहित ६ वटा स्वास्थ्य संस्था रहेकामा सबैको अवस्था उस्तै छ।

उत्तरी नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले १० वटा स्वास्थ्य संस्था रहेकामा पाँच वटा बन्द रहेको र पाँच वटामा एक–एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरेर सेवा दिँदै आएको बताए।

ताँजाकोट गाउँपालिका–२ सगुुनी जैशीले ६ महिनाको बिरामी छोरीलाई उपचार गर्न स्वास्थ्य चौकी पुुगे पनि बन्द भएको कारण उपचारै नगरी फिर्ता हुनुपरेको बताए।
दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका सर्केगार्डमा दश वटा, चंखेलीमा सात, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा ६ वटा स्वास्थ्य संस्था रहेकोमा अधिकांश बन्द छन्।

जिल्ला अस्पतालमा पनि समस्या उस्तै

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले अत्यावश्यक सेवाका शाखामा कार्यरत स्वास्थ्यकर्मी र टेक्निसियनलाई निर्वाचनमा खटाउँदा उपचारमा समस्या भएको बताए। अस्पतालले चार जना चिकित्कसको व्यवस्था गरे पनि ल्याब र एक्सरे फाँटका टेक्निसियन निर्वाचनमा खटिँदा उपचारमा समस्या आएको बताए।

उनले कार्यालयबाट विज्ञप्ति नै निकालेर स्वास्थ्यकर्मी खटनपटनका लागि ध्यानाकर्षण भएको बताए। कात्तिक २६ गतेदेखि हुम्लाका ५९ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीमध्ये अधिकांश स्वास्थ्यकर्मी छन्। मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचनजस्तो राष्ट्रिय कार्यक्रममा कर्मचारी निर्वाचनमा खटाउनु बाध्यता रहेको बताए।

उनले भरसक महत्वपुर्ण र अत्यावश्यक क्षेत्रलाई बन्द हुने गरी कर्मचारी खटनपटन नगरिएको तर कतै त्यो समस्या भएको हुन सक्ने बताए।

मंसिर ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्