मुस्ताङमा एमाले क्लिनस्विप, कांग्रेसले उल्टायो नतिजा

पोखरा – मुस्ताङमा २०७४ सालको निर्वाचन परिणाम उल्टिएको छ । त्यतिबेला एमालेले प्रतिनिधि सभा र प्रदेशको ३ वटा सिट जितेको थियो । यसपालि कांग्रेसले एमालेलाई मुस्ताङबाट क्लिनस्विप पारेको हो ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका २९ बर्षे योगेश गौचनी थकाली ८५९ मतान्तरले विजयी भएका छन् । थकालीले ३ हजार ९५७ मत प्राप्त गरे । तुलाचनले ३ हजार ९८ मत पाए । १० हजार ९५७ मतदाता रहेको मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । प्रदेश ‘क’ मा वडाध्यक्षमा पराजित भएका कांग्रेसका नम्डु गुरुङ विजयी भए ।

उनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभामा इन्ट्री मारेका हुन् । विष्ट गण्डकीका निर्वतमान प्रदेशसभा सदस्य हुन् । गुरुङले १ हजार ८४ मत पाउँदा विष्टले ७९३ मत पाए । यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो ।

प्रदेश सभा ‘ख’ मा पनि नेपाली कांग्रेस जित निकाल्दै एमालेलाई क्लिनस्विप पारेको हो । । प्रदेश सभा ‘ख’ कांग्रेसका विकल शेरचन विजयी भए । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । राप्रपाका कर्म डोल्कर गुरुङले ५८ मत पाएका छन् ।

प्रदेश सभामा ७ हजार १६ मतदाता रहेकोमा ५ हजार ४०१ मत खसेको थियो । मुस्ताङ एमालेले जित्ने सुचीमा र कांग्रेसले रेड जोनमा राखेको थियो । तर, नतिजा उल्टिएर आएको छ ।

गत स्थानीय तहको चुनावमा एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ गाउँपालिकाको अध्यक्ष जितेको थियो । कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेको थियो । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै अब मुस्ताङमा समानुपातिकको मतगणना हुनेछ । मंगलबार विहान ७ बजेबाट समानुपातिकको गणना थालिने जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

मंसिर ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्