विश्वकप फुटबल: इरानको पोस्टमा इङ्ग्ल्यान्डको आधा दर्जन गोल

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्डले एसियन टिम इरान विरुद्ध ६-२ को फराकिलो जित निकाल्दै प्रतियोगितामा धमाकेदार सुरुवात गरेको छ।
समूह ‘बी’ अन्तर्गत एसियन प्रतिद्वन्दी विरुद्ध प्रभावशाली प्रदर्शन गरेको इंग्लिस टिमले पहिलो हाफ र दोस्रो हाफमा समान ३-३ गोल गरेको थियो।
पहिलो हाफको अन्तिम १० मिनेटमा इंग्ल्यान्डले लगातार तीन गोल गर्दै इरानमाथि दबाब दिएको थियो। दोस्रो हाफमा उसले थप ३ गोल गर्दा इरानले २ गोल फर्कायो।
खेलमा इंग्ल्यान्डले ३४ औं मिनेटमा जज बेलिङ्घमको गोलमार्फत अग्रता लिएको थियो। सुरुवाती अग्रता लिएपछि उसले थप दुई गोल गर्न धेरै समय पर्खनु परेको थिएन। इंग्ल्यान्डका लागि दोस्रो गोल ४३ औं मिनेटमा बुकायो साकाले सम्भव बनाउँदा तेस्रो गोल रहिम स्ट्रलिङले ४५ औ मिनेटमा गरेका थिए।
अनमार्क रहेका बेलिङ्घमले सहज रुपमा हेडमार्फत सुरुवाती अग्रता दिलाउँदा साकाले भने डिबक्स नजिकैबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो। तेस्रो गोल ह्यारिकेनको पासमा रहिम स्ट्रलिङले वान टच फिनिसिङ गर्दै टिमलाई ३-० को अवस्थामा पुर्याए।
दोस्रो हाफमा पनि राम्रो लयमा देखिएको इंग्ल्यान्डका लागि बेलिङ्घामलेनै ६२ औ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गरे।
त्यसपछि इरानले इंग्ल्यान्ड विरुद्ध एक गोल फर्काउँदै क्लिनसिट रहने इङ्ग्ल्यान्डको चाहना पुरा हुन दिएन। इरानका लागि तरेमिले ६५ औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि इंग्ल्यान्डले पुन खेलमा अग्रता बढायो। पाँचौ गोल मार्कुस रासफोर्डका नाममा रह्यो। उनले ७१ औ मिनेटमा गोल गरेका थिए। टिमका लागि छैटौं गोल म्यानचेस्टर सिटीका फर्वाड ज्याक ग्रिलिसका नाममा रह्यो। उनले ९० औ मिनेटमा गोल गर्दै टिमलाई ६-१ को अबस्थामा पुर्याए।
तर इन्जुरी समयमा भिएआरको सहयोगमा इरानले पेनाल्टी पाउँदा खेलमा इरानले २ गोल गर्दै समग्रमा नतिजा ६-२ को अवस्थामा ल्यायो। इरानका लागि मेहदी टेरेमिले पेनाल्टीमा गोल गर्दै ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे।
सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरे पनि इटालीसँग पराजित भएर उपविजेता बनेको इंग्ल्यान्ड विश्वकपमा पनि आफ्नो लयलाई निरन्तरता दिने ध्याउन्नमा रहेको छ।