उपाधि दाबेदार अर्जेन्टिना साउदी अरेबियाको सामना गर्दै

कतारमा जारी विश्वकप फुटबलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘सी’ अन्तर्गत हुने खेलमा अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदी अरेबियासँग दिउँसो ३:१५ मा प्रतिस्पर्धा गर्नेछ।

लियोनल मेसीको कप्तानीमा मैदान उत्रिएको अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुआत गर्ने लक्ष्यमा रहेको छ।

७ पटकको बालोन डी’ओर विजेता मेसी पछिल्लो समयको आफ्नो उत्कृष्ट फर्मलाई कायम राख्दै विश्वकपको उपाधि जित्ने प्रयासमा छन्।

त्यसो त अर्जेन्टिना ३६ खेलमा अपराजित रहेकाले निरन्त अपराजित यात्राको कीर्तिमानलाई कायम राख्दै आफ्नो दबदबाका लागि पनि साउदीमाथि फराकिलो जितको प्रतीक्षामा हुने छ।

२०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले हार बेहोरेको छैन।

लियोनेल स्कोलानीको अर्जेन्टिना विश्वकप छनोटमा समेत अपराजित रहेको थियो।

त्यसो त एसियन पावरका रूपमा रहेको साउदी पनि बलियो राष्ट्र अर्जेन्टिनालाई रोक्दै विश्वकपमा इतिहास रच्न चाहन्छ। तर, साउदीका लागि लयमा रहेको अर्जेन्टिनाविरुद्ध जित निकाल्न सहज भने हुने छैन।

साउदीले २०१८ को विश्वकपको उद्घाटन खेलमा रुससँग खेलेको थियो। जहाँ साउदी ५-० को फराकिलो हार बेहाेरेकाे थियो। तर, यो पटक बलियो अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दा तुलनात्मक रूपमा साउदी रक्षात्मक हुनेछ।

अर्जेन्टिना र साउदी अरेबियाबीच अहिलेसम्म ४ खेल भएको छन्। तर, साउदी जितिविहीन छ। अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ।

मंसिर ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्