जनकपुरधाममा आजदेखि सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सुरु, करोडौँ खर्च गरेर लगाइएको लाइट नबल्ने

राम मन्दिर। तस्बिर: राझा झा।

जनकपुरधाम- जनकपुरधाममा सीताराम विवाहको स्मरणमा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि सुरु भएको छ।

त्रेतायुगमा भगवान राम र जानकीबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव एक सातासम्म विभिन्न विधिको आयोजना गरी मनाइने गरिन्छ।

विवाहपञ्चमीमा लाखौँको भीड भए पनि यस पटक जारी रहेको मतगणनाको कारण केही खल्लो हुने भएको छ।

आज विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन गरिनेछ।

दोस्रो दिन बिहीबार फूलवारी लीला, तेस्रो दिन शुक्रबार धनुषयज्ञ, चौथो दिन शनिबार तिलकोत्सव, पाँचौ दिन आइतबार मटकोर, छौटौं तथा मुख्यदिन सोमबार स्वयंवर तथा शुभविवाह र सातौँ तथा अन्तिम दिन मंगलबार रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ।

यस पटक विवाहपञ्चमीमा सहभागी हुन भारतको उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराज जनकपुरधाम आउन लागेका हुन्। भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराज मंसिर १२ गते जनकपुरधाम आउने भएका छन्।

सतपाल महाराजसँगै हरिद्वारका महामण्डलेश्वर ईश्वरदास महाराज र विश्व हिन्दू महासंघका महामन्त्री राजेन्द्र पंकजको नेतृत्वमा विवाहपञ्चमी महामहोत्सवअन्तर्गत जन्तीमा सहभागी हुन साधुसन्तहरू जनकपुरधाम आउन लागेका छन्।

जानकी मन्दिरमा करोडौँ खर्च गरेर लगाइएको बत्ती भने यस पटक नबल्ने भएको छ।

मधेस प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा करिब पौने १२ करोडको लागतमा मन्दिरमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा विद्युतीकरण गरिएको थियो।

विद्युतको बाँकी बक्यौता नतिरेका कारण बत्ती नबल्ने भएको हो।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्