चालु आर्थिक वर्षमा नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने

काठमाडाैँ- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन्।

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन्।

घिसिङले अबको ५-६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए।

१५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने उनकाे भनाइ छ।

उनले जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपाल विद्युत प्राधिकरणमा १५ वर्ष नाघेका प्रोजेक्ट धेरै छन्। कालीगण्डकी १५ वर्ष मागेपछि रोयल्टी नै हामीले १० प्रतिशत तिर्नुपर्छ। क्यापसिटी रोयल्टी हामीले हजार रुपैयाँ पर किलोवाट तिर्नुपर्छ। यसाे गर्दा करिब ७० करोड त हामीले एउटा प्रोजेक्टले तिर्नुपर्दो रहेछ। करिब १ अर्ब ७० करोड हामीले प्राधिकरणको प्रोजेक्टहरुले मात्रै रोयल्टी तिर्दा रहेछौँ। अहिलेको व्यवस्था अनुसार रोयल्टीको हिसाव गर्दा १५ वर्ष २ प्रतिशत इनर्जी रोयल्टी र १०० रुपैयाँ क्यापासिटी रोयल्टी छ। १५ वर्षपछि १० प्रतिशत रोयल्टी र हजार रुपैयाँ क्यापसिटी रोयल्टी छ। यसरी हेर्दा करिब १५ वर्षपछिका प्रोजेक्टहरू अब ३ हजार मेगावाट त हुँदैछ। यो वर्ष नै करिव ३ हजार मेगावाटको क्यापासिटी हुन्छ नेपालमा। हामी ५-६ वर्षभित्र करिव १०-१५ हजार मेगावाट क्यापासिटी हुन्छ भनेर क्यालकुलेसन गरेका छौँ। ३ हजार मेगावाट मात्रै भयो भनेपनि करिब ५० अर्बको हामीले रोयल्टी तिर्दा रहेछौँ।’

उनले जलविद्युत आयोजनाहरुको प्रवर्द्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताए।

उनले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने पनि बताए।

चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको उनकाे भनाइ छ।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्