२८ वर्षमा भत्कियो एमालेको गढ, कार्यकर्ताले लगाइदिए २८ किलोको माला

पोखरा – नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा तनहुँ जहिले हाबी हुन्छ। बिपी कोइरालाको पालादेखि नै रामचन्द्र पौडेल गोविन्दराज जोशीको बलियो उपस्थिति थियो। पछिल्लो पुस्ताका प्रदीप पौडेलले पनि कांग्रेसका प्रभाव जमाइरहेका छन्।

र, पनि तनहुँ २ मा कांग्रेस कमजोर सावित भइरहन्छ। एमालेको गढ तनहुँ २ (साविकको ३) मा यसपालि भने भत्किएको छ। २८ वर्षपछि एमालेको गढ भत्काएर कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले इतिहास रचेका छन्।

भण्डारीले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत ल्याए। १ लाख २५ हजार ५ मतदाता रहेको यो क्षेत्रमा ६७ हजार ८१७ मत खसेको थियो।

भण्डारी र गुरुङसहित यो क्षेत्रमा १० जना चुनावी मैदानमा थिए। त्यसमा पनि पूर्ववनमन्त्रीद्वयको भिडन्तले यो क्षेत्र चासो र चर्चाको विषय बनेको थियो।

०५१ सालपछि पहिलोपटक कांग्रेसले यो क्षेत्रमा जित हासिल गरेको हो। ०५१ सालमा तत्कालीन तनहुँ ३ मा कांग्रेसका अमरराज कैनी विजयी भएका थिए। त्यसपछि लगातर एमालेले जित्दै आएको थियो।

राज्य पुनःसंरचनासँगै म्याग्दे र ऋषिङ गाउँपालिका मिसाएर साविकको तनहुँ क्षेत्र नम्बर ३ लाई क्षेत्र नम्बर २ कायम गरियो। त्यतिबेला तनहुुँ २ मा पर्ने छाङ, जामुने, मनपाङ गाविसलाई म्याग्दे गाउँपालिका र काँहुशिवपुर, भीरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ रानीपोखरी गाविसलाई ऋषिङ गाउँपालिका कायम गरिएको छ।

तनहुुँ ३ मा ०४८ सालमा एमालेका किरण गुरुङले कांग्रेसका पदमबहादुर आलेलाई १ हजार ६६२ मतको अन्तरमा पराजित गरेका थिए।

०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका टुकराज सिग्देललाई कांग्रेसका अमरराज कैनीले पराजित गरे। कैनी त्यतिबेला यो क्षेत्रमा टुरिस्ट उम्मेदवार थिए।

संयोग नै मान्नुपर्छ यसपालि विजयी भएका कांग्रेसका भण्डारी पनि टुरिस्ट उम्मेदवार हुन्। उनको मतदाता नामावली तनहुँ २ मा छैन। तनहुँ १ अन्तर्गत भानु नगरपालिका–९ पुर्कोटका भण्डारीको मतदाता नामावली पुर्कोट क्याम्पसको मतदान केन्द्रको छ।

०५६ मा एमालेका टुकराज सिग्देलले कांग्रेसका विष्णुवीर आलेलाई पराजित गरे। ०६४ मा एमालेका किरण गुरुङले कांग्रेसका ताराराज रानालाई र ०७० मा टुकराजले कांग्रेसका जितप्रकाश आलेलाई पराजित गर्दै एमालेको किल्ला बनाउन सफल भए।

०७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई पराजित गर्दै एमालेलाई दरो बनाएका थिए। सिग्देलसँग भण्डारी ३ हजार २७९ मतान्तरले पराजित भएका हुन्। सिग्देलले ३२ हजार ९२४ र भण्डारीले २९ हजार ६४५ मत पाएका थिए।

भण्डारी ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित हुँदै संसद् छिरेका थिए। प्रधानमन्त्री देउवानिकट मानिने भण्डारी यसपालि तनहुँ १ बाट रामचन्द्र पौडेल लड्ने भएपछि तनहुँ २ मा आएका हुन्। दोस्रो प्रयासमा तनहुँ २ को २८ बर्से इतिहासलाई भण्डारीले उल्टाउँदै जित दर्ता गराएका छन्।
२८ वर्षमा एमालेको गढ भत्काएका भण्डारीलाई कार्यकर्ताले २८ किलोको माला लगाइदिएर बधाई दिएका छन्।

कांग्रेसनिकट व्यवसायी निरबहादुर पुनले भण्डारीलाई बुधबार २८ किलोको माला लगाइदिएका हुन्। जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल छ।

कसरी भत्कियो एमालेको गढ ?

२८ वर्षपछि एमालेको गढ भत्काएर जितको झण्डा फहराउनुलाई कांग्रेस नेताहरू नेकपा माओवादीको साथलाई श्रेय दिन्छन्।

तनहुँमा माओवादी तेस्रो शक्तिका रुपमा स्थापित छ। ०७४ सालको निर्वाचनमा माओवादीले एमालेलाई साथ दिँदा कांग्रेस पत्तासाफ भएको थियो।
गठबन्धनका कारण जित्न सहज भएको कांग्रेसका क्षेत्रीय सभापति चूडामणि खनाल बताउँछन्। एमालेबाट जितेका जनप्रतिनिधिले जनगुनासो सम्बोधन नगरेका कारण कांग्रेसलाई सहज भएको उनको भनाइ छ।

‘लामो समय जितेर गएकाहरूे जनताको जनचाहनाअनुसार काम नगरेको अवस्थाले चुनाव जित्न सहज बन्यो’, उनले भने, ‘जनताले परिवर्तन चाहिरहेका छन्।’ हारेको ठाउँ भए पनि अनवरत रूपमा संगठन निर्माणमा जुटेको उनले सुनाए।

एमालेले पनि गठबन्धन नै पराजयको मुख्य कारण भएको ठहर गरेको छ। एमालेका पोलिटब्युरो सदस्य टुकराज सिग्देल एमालेलाई परास्त गर्नकै निम्ति गठबन्धन भएको बताउँछन्।

एमालेलाई पराजित गर्न सत्ताको दुरुपयोग भएको सिग्देलको आरोप छ। उनले भने, ‘सत्ताको तर्फबाट नगर्नुपर्ने काम भए। पैसाको चलखेल पनि त्यत्तिकै भयो, रोक्न सकिएन।’

एमालेको संगठनलाई चलायमान बनाउन नसक्दा पनि नतिजाविपरीत आएको सिग्देलले बताए।

सिग्देलका अनुसार सरकारमा हुँदा एमालेले गरेको काम जनतालाई बुझाउन नसक्नु पराजयको अर्को कारण हो। एमालेकै पकेट क्षेत्रमै कम मत खसेका एमालेले विश्लेषण छ।

श्यामराजाको पहिलो यात्रामै सफलता

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयरमा लड्न चाहन्थे श्यामराजा महत। टिकटका लागि उनले दौडधुप नगरेका पनि होइनन्।

प्रदेशदेखि केन्द्रका नेतासँग उनले टिकटको लबिङ गरे पनि पाएनन्। मेयरमा नपत्याइएका श्यामराजाले प्रदेश सभाको टिकट सहजै पाएर पनि जितेका छन्।

बलियो मानिएको सत्ता गठबन्धनलाई पार लगाउँदै उनले पहिलो संसदीय यात्रामै सफलता हासिल गरेका छन्। सम्भवतः उनको जितले तनहुँमा एमाले पत्तासाफ हुनबाट जोगिनेछ।

श्यामराजाले नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई एक हजार ७६६ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

महतले १५ हजार ६६५ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गरे। ३७ हजार ८२९ मत खसेको थियो।

यो प्रदेश क्षेत्रमा शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिकाको ५ र ६ सँगै म्याग्दे गाउँपालिका पर्छ।

न्यौपाने पराजित भएसँगै माओवादीले गठबन्धन सहयात्री दल कांग्रेसले गम्भीर घात गरेको आरोप लगाएको छ। गठबन्धनसम्बद्ध दल कांग्रेसबाट गम्भीर घात भएपछि अनपेक्षित पराजय व्यहोर्नुपरेको नेकपा माओवादी केन्द्र तनहुँका संयोजक मदन आलेको आरोप छ। उनले भनेका छन्, ‘गठबन्धनको राजनीतिक संस्कार र लोकतन्त्रको मूल्य–मान्यतालाई थप धुमिल बानएको छ।’

एमालेसँग पारिवारिक बदला लिएका जितप्रकाश

एमालेको गढ तनहुँ २ मा कांग्रेसबाट टिकट पाएर सधैं पराजित हुने उम्मेदवार एउटै परिवारका हुन्।

०४८ सालमा पदमबहादुर आले पराजित भएपछि ०५१ र ०७४ मा मात्रै उनको परिवारले टिकट पाएन।

०५६ मा कांग्रेसले पदमबहादुरका भाइ विष्णुवीर आलेलाई टिकट दिएर पनि उनको संसदीय यात्रा सुरु हुन सकेन।

०६४ मा पदमबहादुरका जेठा ज्वाइँ ताराराज रानाले टिकट पाए, उनको पनि जोर चलेन।
०७० सालमा पदमबहादुरका अन्तरे छोरा जितप्रकाश आलेले पनि संसद छिर्ने गरी जनमत पाउन सकेनन्।

आले परिवारको संसदीय यात्रामा ०४८ र ०६४ मा एमालेका किरण गुरुङले ब्रेक लगाइदिएका थिए। ०५६ र ०७० सालको चुनावमा एमालेका टुकराज सिग्देल आले परिवारको संसदीय यात्राको बाधक बने।
तनहुँ २ ‘ख’ मा जितप्रकाश आलेले यसपालि फेरि टिकट पाए। आलेको चुनावी भिडन्त जुरेको थियो ०७० मा पराजित गरेका टुकराजका भाइ केदार सिग्देलसँग।

एमालेको गढ मानिएको क्षेत्रमा त्यो पनि प्रतिनिधि सभाबाट प्रदेश ओर्लिएका केदारसँगको भिडन्त कम चुनौतीपूर्ण थिएन। तर, चुनौतीलाई चिर्दै जितप्रकाशले दोस्रो प्रयासमा गण्डकी प्रदेश सभाको यात्रा तय गरेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले ६४० मतान्तरले विजयी भएका हुन्। आलेले १३ हजार ८६० मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए।

उपाध्यायका अनुसार एमालेका केदार सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका छन्। यो क्षेत्रमा २९ हजार ८९८ मत खसेको थियो। यो प्रदेशमा भिमाद नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका यो क्षेत्रमा पर्छ।

प्रदेश सभामा निर्वाचित आले कांग्रेस तनहुँका जिल्ला सभापति हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट आलेले १४ औं महाधिवेशनमा जिल्ला सभापति बन्न पौडेललाई छाडेर सभापति शेरबहादुर देउवाको पक्षमा खुलेका थिए।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्