विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन जनकपुर नगरदर्शन गरियो (तस्बिरसहित)

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा बुधबारदेखि विधिवत् रुपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाह महोत्सव शुरु भएको छ।

विवाह पञ्चमी शुरु भएसँगै जनकपुरधाममा श्रद्धालुभक्तजन आउनेहरुको क्रम सुरु भएको छ। मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ।

त्यसको लागि जनकपुरधाम क्षेत्रमा श्रद्धालु भक्तजनहरुको चहल पहल बढेको छ। यद्यपी प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहेकाले यसले विवाहपञ्चमीमा प्रभाव गरेको छ।

विवाह पञ्चमीको पहिलो दिन बुधबार जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन विधि गरिएको छ। भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो। सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो।

जनकपुर नगर दर्शनको लागि जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली लगायतका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए। राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्