सुदू्रपश्चिम प्रदेशका १६ संघीय निर्वाचन क्षेत्रमध्ये ४ वटाको परिणाम घोषणा

धनगढी – सुदूरपश्चिम प्रदेशका १६ संघीय निर्वाचन क्षेत्रमध्ये बुधबार बेलुकासम्म ४ वटा क्षेत्रको परिणाम घोषणा भएको छ। घोषणा भएका ४ मा नेपाली कांग्रेसले दुई क्षेत्र, एकीकृत समाजवादीले एक र नागरिक उन्मुक्तिले एक निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेरबहादुर कुँवरले अछाम १, नेपाली कांग्रेस अछामका सभापति पुष्प शाहले अछाम २ र नागरिक उन्मुक्तिका गंगा चौधरीले कैलाली ३ मा विजय प्राप्त गरिसकेका छन्।

गणना भइरहेका बाँकी क्षेत्रमध्ये कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र ५ मा कांग्रेसकै डिल्लीराज पन्त, कञ्चनपुर २ मा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र ३ मा कांग्रेसकै केन्द्रीय सदस्य रमेश लेखक तथा दार्चुलामा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले अग्रता लिइरहेका छन्।

त्यस्तै, बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी र डोटीमा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन्। कञ्चनपुर १ मा एमालेका तारालामा तामाङ र बैतडीमा एमालेका दामोदर भण्डारीले अग्रता लिएका छन्।

यस्तै, कैलाली १ मा नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठले अग्रता लिएकी छन् भने कैलाली २ मा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन्।

बाजुरा जिल्लाको बूढीनन्दाको एक वटा मतदान केन्द्रमा मंसिर १० गते निर्वाचन हुने हुँदा मत गणना भएको छैन।

मंसिर ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्