फाइल तस्बिर।

धनगढी – कञ्चनपुर- २ बाट नेपाली कांग्रेसका नेता एनपी साउँद प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन्।

क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउँदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ५७७ मतदाता छन्। जसमध्ये ६४ हजार ७५२ मत खसेको थियो।

खसेको मतमध्ये ५९ हजार ८३२ सदर र ४ हजार ९२० मत बदर भएको कार्यालयले जनाएको छ।

साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्