रुसले ‘मानवता विरोधी अपराध’ गर्‍यो: जेलेन्स्की

रुसी आक्रमणका कारण किएभमा भवन भत्किएपछि खटिएका उद्धारकर्मीहरु । तस्बिर : गेट्टी इमेज

रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’

रुसले गरेको शृङ्खलावद्ध आक्रमण गर्दा पछिल्लोपटक कम्तीमा सातजनाको मृत्यु भएको युक्रेनले जनाएको छ। युक्रेनको परमाणु ऊर्जा केन्द्र बन्द गरिएको छ। अझैपनि युक्रेनको नियन्त्रणमा रहेका तीनवटा ऊर्जा केन्द्र भने आपूर्ति सञ्जालबाट बाहिर छन्।

जेलेन्स्कीले संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दै राजधानी किएभमा अवस्था निकै कठिन रहेको उल्लेख गरेका हुन्। विद्युत सेवा सुचारु गर्नका लागि प्रयास जारी रहेको उनले उल्लेख गरेका हुन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्