चुनावका तीन मनोदशा

काठमाडौँ – मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतगणनापछिको जित हार चलिरहेको छ।

चुनावको जित हार चलिरहँदा उम्मेदवाहरु विभिन्न खालका घटनासँग जोडिएका छन्। झापा ३ बाट एमाले राप्रपा गठबन्धनका उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले बुधबार आफूलाई मतदान गर्ने एक मतदतालाई अस्पताल पुगेर भेटेका छन्।

गम्भीर अवस्थामा पनि आफूलाई मतदान गरेर मात्रै अस्पताल जान्छु भनेका बिरामीलाई अध्यक्ष लिङ्देनले भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।

भद्रपुरको ओमसाई अस्पताल पुगेर बिरामी भेटका लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘निर्वाचन जित्ने नजित्ने अलग कुरा, मन जित्ने ठूलो कुरा। गम्भीर अस्वस्थ्यता र परिवारका आपत्तिका बीच पनि मलाई मतदान गरेर मात्र अस्पताल भर्ना हुनुभएका आफ्ना भगवानलाई स्वास्थ्यलाभको कामना गर्दछु।’

त्यस्तै राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेका कमल थापाले बिहीबार बिहान मकावनपुर १ बाट हार स्वीकार गरेका छन्। एमालेबाट टिकट लिएर उम्मेदवारी दिएका थापाले ओलीलाई टिकट दिएकोमा धन्यवाद दिँदै भनेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना।’

त्यस्तै, काठमाडौँ ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेका शिशिर खनालले मतदातालाई धन्यवाद दिँदै विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन्।

उनले जनतासँग गरेको वाचा पूरा गर्ने बताउँदै भनेका छन्, ‘इमानदारिता र उत्तरदायित्व मेरो पहिलो सर्त हो। म यहाँहरूप्रति सधैँ उत्तरदायी र इमानदार रहने छु। यहाँहरूको विश्वासलाई डगमगाउन दिने छैन। यहाँहरूले सुम्पनु भएको जिम्मेवारी मेरो लागि विशुद्ध सेवा हो। एक सेवकको रूपमा यहाँहरूको आवाजलाई बुलन्द रूपमा संसदमा प्रस्तुत गर्ने वाचा गर्दै मलाई निरन्तर सल्लाह, सुझाव दिँदै खबरदारी गरिरहन हार्दिक अनुरोध गर्दछु।’

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्