दावेदार ब्राजिललाई सर्वियाको चुनौती

विश्वकप फुटबलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल बिहीबारबाट आफ्नो छैटौँ विश्वकप जित्ने लक्ष्य साकार पार्न मैदान उत्रिँदैछ। समूह ‘जी’ अन्तर्गत हुने आफ्नो पहिलो खेलमा सर्वियासँग प्रतिस्पर्धा गर्नेछ।

कतारको दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मध्यराति १२:४५ मा हुने खेलमा स्टार खेलाडीले भरिएको ब्राजिल जितसँगै आफ्नो बलियो छवि देखाउन चाहन्छ। ठूला प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसके पनि सर्विया अन्डरडग टोलीको रूपमा परिचित छ।

साथै कतारी भूमिमा निरन्तर अप्रत्यासित नतिजाले सर्विया केही उत्साही पनि छ।

ब्राजिल २०२१ मा भएको कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएयता १५ खेलसम्म अपराजित छ। जसमा १२ जित र ३ बराबरी रहेका छन्।

आक्रमण र मिडफिल्डमा मजवुत देखिएको ब्राजिलको डिफेन्स लाइन भने केही कमजोर मानिन्छ। ब्राजिलको फर्वाड लाइनअप पनि लोभलाग्दो छ।

नेयमारसँगै राफिन्हा, रिचार्लीसन, भिनिसियस जुनियर, रोड्रिगो, गाब्रियल जेसस, एन्टोनी र ग्राबियल मार्टिनेली लगायत खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ।

त्यसो त मिडफिल्डमा क्यासेमिरो, फाविन्हो, लुकास पाक्वेटा, ब्रुनो गुइमारेस रहँदा डिफेन्समा ड्यानी आल्भेस, थियागो सिल्भा, डोनिलो, मार्किन्हस र एडर मिलिसाओ रहेका छन्। गोलरक्षकमा प्रिमियर लिगका स्टार खेलाडीहरु एलिसन बेकरसँगै एडर्सन मोराएस र वेभर्टन रहेका छन्।

त्यसो त सर्वियाले युरोपेली छनोटमा पोर्चुगलजस्तो बलियो टोलीलाई पछि पार्दै समूह विजेताका रूपमा विश्वकपमा स्थान बनाएकाले ब्राजिललाई सहज भने हुनेछैन।

डुसान भ्लाहोभिचसँगै एलेक्सान्डर मित्रोभिच, लुका जोभिच, डुसान टाडिच, फिलिप कोस्टिक, निकोला मिलिन्कोभिच, नेमान्जा गुडेज, मार्को ग्रुजिच र गोलरक्षक मार्को डिमिट्रोभिच टोलीमा मुख्य खेलाडीका रुपमा रहनेछ।

यी दुई टोली तेस्रोपटक खेल्न लागेको हुन्। यसअघिको दुवै भेटमा ब्राजिलले जित निकालेको थियो।

यी दुई टिमबीच पछिल्लोपटक सन् २०१८ को विश्वकपमा समूह चरणमा नै प्रतिस्पर्धा गर्दा ब्राजिल २-० ले विजयी भएको थियो। त्यसअघि २०१४ मा भएको मैत्रीपूर्ण खेलमा पनि ब्राजिल १-० ले विजयी भएको थियो।

 

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्