तनहुँ १ः रामचन्द्रको डबल ह्याट्रिक, एकबहादुरको चौथो हार

पोखरा – भदौ पहिलो साता दमौलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घोष गरे, ‘अघिल्लो चुनावमा जहाँबाट हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु।’

उनको अर्को पनि वर्षौंदेखिको सपना छ, ‘चुनाव जित्ने मात्रै होइन, कम्तीमा एक पटक त प्रधानमन्त्री भइछाड्ने।’ जुन प्रधानमन्त्रीको सपना १७ पटकसम्म प्रयास गर्दा पनि पूरा हुन सकेको छैन।

प्रधानमन्त्री सपना बोकेर सातौं पटक चुनावी मैदानमा होमिएका पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले प्रतिस्पर्धामा होमिएका १४ उम्मेदवारलाई पछाडि पार्दै संसदीय यात्रामा डबल ह्याट्रिक गर्न सफल भएका छन्।

पौडेलले निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन्। पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९ सय ४३ मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी भनिएका कांग्र्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको यसपालि जोर नचलेको मतपरिणामले देखाउँछ।

चुनावी अगाडिसम्म रामचन्द्रको प्रधानमन्त्री सपनामा उनैका पूर्वसहकर्मी जोशी तगारो भएको विश्लेषण हुन्थ्यो। स्वतन्त्र उम्मेदवारी दिएका जोशीको पक्षमा ६ हजार ८ सय ७८ मत खसेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले २ हजार ४ सय ८७ मत पाएका छन्। १ लाख २३ हजार ९० मतदाता रहेको यो क्षेत्रमा ६८ हजार १ सय ५८ मत खसेको थियो।

०४८ सालदेखि पौडेल निरन्तर कांग्रेसको उम्मेदवार बनिरहेका छन्। अहिलेसम्म ६ पटकसम्म विजय भएका पौडेल उपप्रधानमन्त्रीदेखि सभामुखसम्मको पदमा पुगे।

०७४ सालमा भएको सम्पन्न निर्वाचनमा पहिलो पटक रामचन्द्रको विजयी यात्रामा ब्रेक लागेको हो।
तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पौडललाई छैटौँ पटकको चुनावी भिडन्तमा पराजयको स्वाद चखाइदिएका थिए। किसानले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा रामचन्द्र २७ हजार ६ सय ९० मतका साथ पराजित भएका थिए। एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका किसानको साथ यसपालि रामचन्द्रलाई थियो।

रामचन्द्रलाई तनहुँ १ छाडेर बारा ४ पुगेका किसान पनि निर्वाचित भएका छन्। अघिल्लो पटक तनहुँमा नेपाली कांग्रेस क्लिनस्विप भएको थियो।

एकबहादुरको संसद् सपना अधुरै

गोविन्दराज जोशीसँग तीन पटक चुनावी मैदानमा भिडेका एकबहादुर रामचन्द्रसँग भने पहिलो पटक आमने–सामने भएका छन्।

०४८ सालमा रामचन्द्र पौडेलले पहिलो पटक टिकट पाएर तनहुँ १ मा बाजी मार्दै संसदीय राजनीतिमा डेब्यु गरे। त्यतिबेला नै एकबहादुरलाई तत्कालीन नेकपा मालेले पौडेलसँगको चुनावी मैदानमा उतार्न टिकट दिएको थियो।

रामचन्द्र भर्सेस एकबहादुरको भिडन्त जुरेन। मालेले पछि राष्ट्रिय जनमोर्चासँग तालमेल गर्दैै तनहुँ १ छाड्यो। एकबहादुरलाई ब्याक गरायो।

पहिलो पटक टिकट पाएर रामचन्द्रसँग प्रतिस्पर्धाको मैदानमा होमिन नपाएका एकबहादुरलाई तीन दशकपछाडि बल्ल त्यो अवसर जुर् यो। तर, दोहोरो ह्याट्रिक गरेका पौडेलसामु रानाको पहिलो इनिङको प्रयास सफल भएन।

दोस्रो पटक एकबहादुरले ०५१ सालमा तनहुँ १ मा टिकट पाए। पहिलो चुनावी प्रतिस्पर्धा गोविन्दराज जोशीसँग भयो। त्यतिबेलाका शिक्षामन्त्री जोशीसँगको भिडन्तमा एकबहादुरलाई पहिलो गाँसमै ढुंगा लाग्यो।

०५६ सालमा फेरि तत्कालीन गृहमन्त्री जोशीसँग भिडन्त दोहोरियो। ‘शक्तिशाली गृहमन्त्री जे गरे पनि माफी नै थियो। कहाँबाट जित्न सक्नु,’ उनी सम्झन्छन्।

०६४ सालमा एकबहादुर राना नेकपा एमालेतर्फबाट चुनावी मैदानमा उतारिए। त्यतिबेला परिचत प्रतिस्पर्धी जोशीलाई पछाडि पारे। तर, चुनाव जितेनन्। अर्थात् उनी दोस्रो भए। नेकपा माओवादीका सुरेश आले मगर विजयी भए।

०७० र ०७४ सालको निर्वाचनमा एमालेको सामुनिपातिक सूचीमा उनको नाम अटायो। तर, प्राथमिकता सूचीमा थिएनन्। संसद् भवन छिर्न उनी पाएनन्। यसपालि पनि संसद छिर्ने उनको सपना अधुरै रह्यो।

प्रदेश ‘क’ मा अशोककुमार श्रेष्ठ विजयी

तनहुँ १ ‘क’ मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले ४ हजार २ सय १८ मतान्तरसहित गण्डकी प्रदेश सभामा डेब्यु गर्दा एमालेका रामबहादुर गुरुङको दोहोरिने दाउमा ठेस लाग्यो।

श्रेष्ठले १५ हजार ३ सय ६३ मत प्राप्त गर्दा एमालेका रामबहादुर गुरुङले ११ हजार १ सय ४५ मत प्राप्त गरेका छन्। ३६ हजार ४ सय ३१ मत खसेको थियो।

प्रदेश ‘ख’ मा चुमान दोहोरिए

तनहुँ १ ‘ख’ नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट चुमान २ हजार ७ सय ७३ मतान्तरसहित गण्डकी प्रदेशमा दोस्रो पटक विजयी भएका हुन्।

चुमानले १३ हजार २ सय ७१ प्राप्त गरेका छन्। ३० हजार ३ सय ८९ मत खसेकोमा नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४ सय ९८ मत प्राप्त गरे। चुमान गण्डकी प्रदेशका मुख्यमन्त्रीका दावेदार हुन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्