नेपाली भाषा लेखाइमा सुधार आवश्यक

बोलचालको प्राकृतिक भाषा

नेपाली भाषाको इतिहास लगभग हजार वर्षजतिको छ। संस्कृतबाट प्राकृत हुँदै नेपाली भाषाको विकास भएको हो। भाषा अभिव्यक्तिको सबैभन्दा प्रभावकारी र सरल माध्यम हो। भाव सम्प्रेषणका निम्ति वाणीको प्रयोग अनादि कालदेखि नै हुँदैआएको छ। त्यसैले जीवन्त भाषा भनेको बोलचालको भाषा हो। बोलचालकै भाषालाई लिपिका सङ्केतले बुझाउनका निम्ति लिपिको विकास भएको हो। त्यसैले लिखित भाषाचाहिँ कृत्रिम हो। अतः लिखित भाषाले सकेसम्म प्राकृतिक बोलचालको भाषाको नै अनुगमन गर्नु भाषाशास्त्रीय र व्यावहारिक दृष्टिले उपयुक्त हुन्छ।

संस्कृत भाषाका विशेषता

संस्कृत भाषामा उच्चरित हुने सबै श्रुति अथवा ध्वनिलाई प्रायः यथार्थ रूपमा सङ्केत गर्न सक्ने देवनागरी लिपिको विकास भएको छ। त्यसैले संस्कृतमा स्वर र व्यञ्जन वर्णहरूको जस्तो उच्चारण गरिन्छ त्यस्तै लेख्ने गरिन्छ। जस्तो लेखिन्छ त्यस्तै उच्चारण गर्ने गरिन्छ। त्यसैले संस्कृतमा कथ्य भाषा र लेख्य भाषा भन्ने भेद छँदै छैन। आजभोलि लोकभाषाका प्रभावले गर्दा ऋ लृ व श ष क्‍ष (क्ष) ज्ञ  (ज्‌ञ) यी वर्ण र अक्षरहरूको शुद्ध उच्चारण गर्न सक्ने संस्कृतज्ञ दुर्लभ भएका छन्। स्वर वर्णअन्तर्गतका ऋकार र लृकारको विशिष्ट उच्चारण हुन्छ। संस्कृतमा पनि लृकारको प्रयोग अत्यन्तै थोरै छ। ऋ र लृ दुवैको अस्तित्व नेपाली बोलीचालीमा छैन। नेपालीका उच्चारणमा संस्कृतको ऋकारको वास्तविक उच्चारण पनि छैन। ऋकारको उच्चारण नेपालीमा ‘रि’ गरिन्छ। त्यसैले संस्कृतमा पनि ‘ऋषि ऋण’ इत्यादि शब्दलाई लोकभाषाका उच्चारणका प्रभावले ‘रिसि रिण’ इत्यादि रूपमा उच्चारण गर्ने व्यक्ति नै प्रायः सर्वत्र भेटिन्छन्। वास्तवमा संस्कृतमा ‘ऋषि ऋण’इत्यादिको उच्चारण संस्कृत ध्वनि शास्त्रले सिकाएअनुसार शुद्ध रूपमा गर्नुपर्छ। नेपालीमा चाहिँ ‘रिसि’ र ‘रिन रिण)’ उच्चारण हुने हुनाले लेखाइमा पनि विकल्पले ‘रिसिरिन रिण’ लेख्दा पनि अशुद्ध नमानिने नियम बनाउनुपर्छ। ‘रिन’ त अहिले पनि शब्दकोशमा लेखिएकै देखिन्छ।

तत्सम भनिएका शब्दका लेखाइमा सुधार आवश्यक

नेपाली भाषामा संस्कृतबाट आएका तत्सम भनिने गरेका शब्द संस्कृतकै नियमअनुसार लेख्नुपर्छ भन्ने गरिएको छ। संस्कृत राम्ररी सिकेर पूर्णतया त्यसअनुसारै नेपाली लेख्नुपर्छ भनेर नियम बनाउनु युक्तिसङ्गतचाहिँ हुँदैन। यसले अनावश्यक रूपमा नेपाली लेखनलाई कठिन र अस्वाभाविक बनाइदिएको छ। नेपाली बृहत् शब्दकोशमा ‘अञ्जलि, पाश्चात्त्य’ इत्यादि धेरै नै संस्कृत–शब्द ‘अञ्जली, पाश्चात्य’ इत्यादि रूपमा लेखिएका छन्। अञ्जलि शब्द पुल्ँलिङ्गी र ह्रस्व–इकारान्त शब्द हो। त्यसैले स्त्रीको नाम ‘अञ्जलि, गीताञ्जलि’ इत्यादि राख्न पनि हुँदैन। तर, शब्दकोशले दीर्घ लेखिदिएर भ्रम पारेको पनि छ। ‘तौ युतावञ्जलिः पुमान्’ भनेर अमरकोषमा पुल्ँलिङ्गी अञ्जलि–शब्दउल्लिखित छ।

त्यसैगरी प्रा.डा.वासुदेव त्रिपाठीको साझा प्रकाशनले छापेको ‘पाश्चात्य समालोचनाको सिद्धान्त’ भन्ने पुस्तकको शीर्षकमै पाश्चात्त्य–शब्द तकारको द्वित्व नगरीकन मुद्रित छ। तत्समशब्द संस्कृतअनुसार नै लेख्नुपर्छ भन्ने प्रचलित नियमअनुसार ‘महत्त्व तत्त्व’ इत्यादिमा द्वित्व लेखिएजस्तै पाश्चात्त्य–शब्दमा पनि तकारको द्वित्व लेखिनैपर्ने हुन्छ। पाणिनिको सूत्र ‘दक्षिणा–पश्चात्–पुरसस् त्यक्’ अष्टाध्यायी ४। २। ९८) अनुसार दाक्षिणात्य, पाश्चात्त्य र पौरस्त्य शब्द हुन्छन्। यसरी तत्सम शब्द संस्कृत व्याकरणअनुसार नै लेख्नुपर्छ भनेर मान्दा त नेपाली शुद्ध लेख्न पनि सबैभन्दा पहिले संस्कृत व्याकरण नै घुँडा धसेर टुप्पी कसेर पढ्नुपर्ने स्थिति आउँछ। संस्कृत नपढेका नेपाली मात्र पढेकाले ‘नीति, वाल्मीकि, पाणिनि’ इत्यादिलाई ‘निती, वाल्मिकी, पाणिनी’ इत्यादि रूपले लेखेको पाइन्छ। तसर्थ नेपाली उच्चारणअनुसार ‘निति, बाल्मिकि, पाणिनि’ लेख्दा पनि अशुद्ध नमानिने नियम बनाउनुपर्ने देखिन्छ। नेपालीका प्रयोक्ताले ह्रस्वदीर्घमा मात्र होइन, अन्यत्र पनि संस्कृतका नियमलाई पच्छ्याउन नसकेको स्थिति छ। उच्चारणमा केही भिन्नता नभए पनि लेखाइमा चाहिँ भिन्नता देखाउनुपर्ने नियमले गर्दा अन्यत्र पनि धेरै ठाउँमा समस्या पारेको देखिन्छ। ‘कृति,कृत्रिम, क्रिया’ लेख्दा विपरीत तरिकाले लेख्ने गरेको पनि देखिन्छ। जस्तै— ‘क्रिति, क्रितृम, कृया’ इत्यादि। उच्चारणअनुसार लेख्दा शुद्ध मानिने नियम भए यथार्थ र सजिलो हुन सक्थ्यो।

नेपाली भाषामा संस्कृतबाट आएका तत्सम भनिने गरेका शब्द संस्कृतकै नियमअनुसार लेख्नुपर्छ भन्ने गरिएको छ। संस्कृत राम्ररी सिकेर पूर्णतया त्यसअनुसारै नेपाली लेख्नुपर्छ भनेर नियम बनाउनु युक्तिसङ्गतचाहिँ हुँदैन। यसले अनावश्यक रूपमा नेपाली लेखनलाई कठिन र अस्वाभाविक बनाइदिएको छ।

नेपालीका लेखाइमा वैकल्पिक रूपलाई पनि शुद्ध मान्न आवश्यक

अहिले मातृभाषा नेपाली भएका साक्षर मानिसले मात्र होइन, नेपाली भाषा पढेलेखेका व्यक्तिले समेत भाषा–व्याकरणका कृत्रिम नियमअनुसार ‘शुद्ध’ भनिएको नेपाली लेख्न नसक्ने स्थिति छ। फलस्वरूप उनीहरूलाईनेपाली भाषाको लेखाइ पनि अङ्ग्रेजीको लेखाइजस्तै वर्णानुपूर्वी छुट्टै सिक्न पर्ने अवैज्ञानिक वर्णानुपूर्वी (स्पेलिङ्) भएको लेखाइ हो कि भन्ने परेको पनि देखिन्छ। कतिपयले चन्द्रसम्सेर–जुद्धसम्सेरका कालमा बलपूर्वक चलाइएको लेखाइलाईनै शिष्टपरम्परा ठानेको पनि पाइन्छ।

लिपिका विशेषता र स्वभावका बढी अनुकूल वीरेन्द्रकेसरी अज्र्यालका व्याकरण तथा जयपृथ्वीबहादुर सिंहका प्राकृत व्याकरणजस्ता व्याकरणलाई पन्छाएर लिपिका विशेषता र स्वभावका विरुद्धमाआदेशका बलमा चन्द्रिका, मध्यचन्द्रिका, नेपाली कसरी शुद्ध लेख्ने जस्ता पुस्तकअनुसारकानेपाली लेखाइका नियम लागू गरिएका हुन्। तथापि यी नियम शिष्टपरम्पराका विपरीत हुन् भन्ने बुझ्न भाषाकै क्षेत्रमा काम गर्नेले समेत नपाएको स्थिति छ। यो अत्यन्त शोचनीय अवस्था हो।

एकरूपताका नाममा विकल्पलाई शुद्ध मान्नै हुँदैन भन्ने धारणा पनि व्याकरणशास्त्रको मर्मविपरीत हो। पाणिनिले विभिन्न ठाउँका व्यक्तिले बोल्ने ‘संस्कर्ता, सँस्कर्ता, संस्कत्र्ता, सँस्कत्र्ता’ इत्यादि १०८ रूपहरू सबैलाई नै शुद्ध मानेका छन्। बलात् एकरूपता ल्याउन प्रयास गरेका छैनन्। उक्त सबै रूप स्तरीय हुन्। संस्कृतका शब्दहरूमा दुई–तीनोटा विकल्प त धेरै शब्दका उच्चारणमा र लेखनमा पाइन्छन्। जस्तै— ‘लिपि, लिपी, लिबि, लिबी, युवति, युवती, कोश, कोष, विन्दु बिन्दु, वशिष्ठ, वसिष्ठ, कौशल्या, कौसल्या’ इत्यादि।

संस्कृतमा हुँदै नभएको लेख्य र कथ्य भाषा भन्ने अवैज्ञानिक चलन पनि नेपालीमा चलाइएको छ। बोल्दा ‘बार’बोलिने र लेख्दा ‘बाह्र’लेख्नुपर्ने नियमले गर्दा कति असजिलो परिरहेको छ भन्ने कुरा विचार गर्नुपर्छ। ‘गारो, गाहारो गाह्रोे’, ‘सारो, साह्रो’, ‘अहिले, ऐले, अइले’ इत्यादि सबै नै लेखाइलाई शुद्ध मान्न सकिन्छ। आजभोलि केही लचिलो भएर विभिन्न रूपलाई मान्यता दिने प्रवृत्ति बढेको पनि छ। नेपाली बृहत् शब्दकोशले शुद्ध मानेका केही वैकल्पिक रूप यस्ता छन्— ‘कानुन, कानून, नमुना, नमूना, सहर, शहर, तिस, तीस, सुक्ख, सुख, दुक्ख, दुख, दुःख, गरिप, गरिब, गरीब, दुद, दुध, दूध, रुख, रूख’ इत्यादि। यसमा अझै पनि सुधार गर्नुपर्छ र संस्कृतका तत्सम शब्दलाई समेत नेपाली उच्चारणअनुसार लेख्दापनि शुद्ध मानिने व्यवस्था गर्नुपर्छ। पुराना प्रयोगलाई बुझ्ने  बनाउन र नयाँ लेखाइलाई उच्चारणको अनुकूल बनाउन पनि विभिन्न विकल्पलाईशुद्ध मान्नुपर्ने हुन्छ। ‘लाइ’ र ‘हरू’ ह्रस्व लेखे पनि शुद्ध मानिन्छ भनेर मध्यचन्द्रिकाले उहिल्यै बताएका नियमलाई अहिलेसम्म पनि मान्यता दिइएको छैन। दीर्घ मात्र लेख्ने चलन व्यापक रूपमा देखिन्छ।

ह्रस्व र दीर्घ उच्चारणले अर्थमा भेद

‘मिठो’ र ‘मीठो’, ‘अलिकति’ र ‘अलीकति’ इत्यादिमा ह्रस्व बोल्दा–लेख्दा, दीर्घ बोल्दा–लेख्दा र प्लुत बोल्दा–लेख्दा शब्दले दिने अर्थमा केही भिन्नता हुन्छ। मिठो भन्नाले अलिअलि मिठो (ह्रस्व), मीठो भन्नाले धेरै मिठो (दीर्घ) र मीऽऽठो मि३ठो) भन्नाले धेरै नै मिठो (प्लुत) भन्ने बुझिन्छ। यो कुरा साधारण भाषाभाषीलाई पनि थाह हुन्छ। तर यसरी उपयुक्त लिपिका प्रयोगले अभीष्ट अर्थ बुझाउन मिल्ने हुँदाहुँदै पनि भाषाको र लिपिको सम्बन्ध तथाविशेषता जान्नबाट भाषाविज्ञानका विद्यार्थीलाईसमेत वञ्चित गराइएको छ। संस्कृतको मिष्ट–शब्दबाट ‘मीठो’ बनेको हो र क्षतिपूर्तिदीर्घीभवनका नियमले गर्दा दीर्घ लेख्नुपर्ने भएको हो भनेर पढाइने गरिएकामा अचेल ह्रस्व लेख्न पनि हुन्छ भन्ने नियम बनाइएको छ। उच्चारणलाई र औचित्यलाई हेरेर यस्ता नियमलाई अझै फराकिलो र लचिलो बनाउनुपर्ने देखिन्छ। यस्ता कुरामा विचार नपुर्‍याई केवल ह्रस्व वा दीर्घ मात्र लेख्नुपर्छ भनेर नियम बनाउँदा भाषागत स्वाभाविकता नै मर्दछ। यो कुरा जीवनको उत्तरार्धमा आएर कोहीकोही नेपाली भाषाशास्त्रीले बुझ्न थालेका हुन् कि जस्तो लाग्छ।

‘जिम्दो नेपालि भासा’ अभियान र यसको मान्यता

भाषाका क्षेत्रमा यास्क, पाणिनि, कात्यायन, पतञ्जलि इत्यादि प्राच्य भाषाविज्ञका सिद्धान्तको नेपाली भाषाका सन्दर्भमा प्रयोग गर्ने कार्यको थालनी हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनबाट (१९९७ –२०७४)‘लेखिने नेपाली भाषाको समस्या’भन्ने शीर्षकको लेख २०२४। ८। २ मितिमा गोर्खापत्रमा छपाएर भएको थियो। उहाँले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान इत्यादि विषयमा थुप्रै लेखहरू प्रकाशित गरेर नयाँ भाषिक चिन्तन प्रस्तुत गर्नुभयो, जसलाई पछिपछि ‘जिम्दो नेपालि भासा’ अभियान भन्न थालियो। प्राच्य भाषाविज्ञान र व्याकरणदर्शनको सिद्धान्तलाई पच्छ्याएर आधुनिक लोकभाषाहरूको व्याकरण बनाउनुपर्छ भनेर सार्वजनिक रूपमा चिन्तन प्रस्तुत गर्ने व्यक्ति भारतवर्षभरिमै दुर्लभ देखिन्छन्। उच्चारणका मात्रा, स्थान, करण इत्यादिलाई नै बिर्सेर ह्रस्व, दीर्घ, श ष स, ब व इत्यादिका लेखनका ‘नियम बनाउने’तिर मात्र ध्यान गएको र त्यसैमा विवाद हुने गरेको देखिन्छ। अरूले डोटेलीलाई भाषिका भनेकामा भाषिक विशेषतालाई हेर्दा डोटेलीलाई छुट्टै भाषा नै मान्न पर्ने देखिएको कुरा उहिले नै उहाँले गर्नुभएको थियो।

एकाध व्यक्तिले मात्र ‘शुद्ध’ लेख्न सक्ने र अरू सबैले लेखेको ‘अशुद्ध’ ठहरिने नियम किन बनाउन परेको होला?यसले लिपिको वैज्ञानिकता नबुझेको स्पष्ट देखिन्छ। नेपाली भाषा अङ्ग्रेजीजस्तो लेखाइ र उच्चारण फरक पार्नुपर्नेअथवा उच्चारण र लेखाइ एउटै बनाएर सुधार गर्नै नसकिने भाषा होइन। यो त संस्कृतजस्तो उच्चारण र लेखाइ एउटै हुने र एउटै बनाउन सकिने भाषा हो। कतिपयले नेपाली व्याकरणका नियमहरू संस्कृत व्याकरणअनुरूप छन् भन्ने पनि ठानेको देखिन्छ। तर अहिले चलाइएका नेपालीका नियम संस्कृतअनुरूपका होइनन्। शुद्ध लेख्न सिक्न समय, साधन र स्रोत अत्यधिक रूपमा खेरा फाल्नुपर्ने स्थिति ल्याएर लोककल्याणको अभिवृद्धि कसरि हुन्छ र! उच्चारण गरेअनुसार श ष स व ब दीर्घ ह्रस्व इत्यादि ठम्याएर लेख्न सिकाउँदा थोरै समयमा नै सबैलाई नेपाली भाषा राम्रोसँग लेख्न सक्ने बनाउन सकिन्छ।

नेपालीका शिक्षकले विशेष ध्यान दिनुपर्ने विषय

विद्यार्थीको अभिव्यक्ति–क्षमता बढाउनमा, छन्दोबद्ध कविता वाचन गर्ने कला सिकाउनमा र नयाँनयाँ विषय जान्ने बनाउनमा समय खर्च गर्नुपर्छ। ह्रस्व र दीर्घ भनेको वास्तवमा के हो भन्ने कुरै नबुझाईकनै ह्रस्व–दीर्घका कृत्रिम नियम घोकाउनु कुनै पनि दृष्टिले उचित होइन। अङ्क दिँदा पनि विषयवस्तुको प्रस्तुतिलाई र अभिव्यक्ति–कलालाईनै महत्त्व दिनु उचित हुन्छ, ह्रस्व–दीर्घ इत्यादि उच्चारणविपरीतका कथित शुद्ध र अशुद्धका कृत्रिम नियमहरूका आधारमा अङ्क काट्न उचित हुँदैन। शिक्षकलाई नै कुइराका काग बनाउने ह्रस्व–दीर्घका, श–ष–सका र ब–वका नियममा नै जतिखेर पनि विद्यार्थीहरूलाई अलमल्याइरहनु प्रतिभा–प्रस्फुटनका दृष्टिले पनि हानिकारक हुन्छ। प्रस्तुति–शैली, शब्द–चयन, वाक्यगठन इत्यादि सबै पक्ष राम्रो भएका खँदिला उत्तर दिने विद्यार्थीलाई अत्यधिक अङ्क दिनुपर्ने आवश्यकता देखिन्छ। हिज्जे बिगारेकामा अङ्क काट्ने होइन, उत्तर कमजोर भएकामा मात्र अङ्क काट्ने गर्नुपर्छ। नेपालीलाई रसिलो, रमाइलो र भावना व्यक्त गर्ने सर्वोत्तम माध्यमका रूपमा पढ्न–लेख्न विद्यार्थीहरूका निम्ति रुचिपूर्ण र लोकप्रिय बनाउन यस विषयमा विद्यालयका तथा विश्वविद्यालयका नेपालीका शिक्षक–प्राध्यापकहरूले विचार पुर्याउनु उचित हुन्छ। ‘जति राम्रो लेखे पनि नेपाली विषयमा त कम अङ्क आउँछ, अरू विषयमा जस्तो आउँदैन’ भन्ने पारेर नेपाली भाषाप्रति वितृष्णा ल्याउने काम गर्न हुँदैन।

‘जिम्दो नेपालि भासा’ अभियानको प्रभाव

‘जिम्दो नेपालि भासा’ अभियानले यस्ता विषयहरूमा विचारकहरूको ध्यान निरन्तर आकृष्ट गरिरहेकै छ। ५५ वर्षअघि थालिएको यस अभियानको अहिले पनि उत्तिकै महत्त्व छ। यसबिचमा पिताजीका ‘जिम्दो नेपालि भासा’ (पैलो खण्ड २०३०, दोस्स्रो खण्ड २०३७) र ‘नेपाली वर्णोच्चारणशिक्षा’ (साझा प्रकाशन, २०३१) भन्ने ग्रन्थहरू र ‘हलन्त बहिष्कारदेखि जिम्दो–नेपालिसम्म उठेका विभिन्न प्रश्नको मूल्याङ्कन र तिनको समाधान’ (पच्चीस वर्षका भाषिक चर्चा, ने.रा.प्रज्ञाप्रतिष्ठन, २०३९) इत्यादि थुप्रै लेखहरू पनि छापिइसकेका छन्। यसैअनुकूलको लेखाइको प्रयोग गरेर धर्म, संस्कृति, दर्शन, भाषा, व्याकरण, साहित्य, राजनीति इत्यादिका अनेक पुस्तक र लेख पनि प्रकाशित भैसकेका छन्। यस अभियानले प्रारम्भदेखि नै नेपाली व्याकरण र शब्दकोशहरूलाई धेरै नै प्रभावित पारेको पनि छ। विभिन्न व्यक्तिले उक्त ग्रन्थहरूबाट लाभ लिएको पनि देखिन्छ। तात्कालिक एकेडेमी/प्रज्ञा–प्रतिष्ठानले २०१९ सालमा छापेको बालचन्द्र शर्माको नेपाली शब्दकोशमा र २०४० सालमा छापेको नेपाली बृहत् शब्दकोशमा प्रयोग भएका लेखाइका हिज्जेहरूको तुलनात्मक अध्ययन गर्दा नयाँ कोशमा धेरै परिवर्तन भएको देखिन्छ। यस परिवर्तनलाई प्रभावित पार्ने यो अभियान पनि हो। तर यस कुराको उल्लेख र विवेचना गर्न नसक्ने तथा स्वाभाविक भाषालाई नियन्त्रण गरिरहन र अस्वाभाविक बनाइरहनखोज्ने प्रवृत्ति अभैm पनि देखा परिरहेको छ।

नेपाली वर्णहरूको पैलो पल्ट स्पष्ट विवेचना गरी निर्धारण गर्ने काम ‘नेपाली वर्णोच्चारणिक्षा’मा गरिएको थियो। अक्षर विभाजनको सिद्धान्त संस्कृत शिक्षाशास्त्रको देन हो। यस सिद्धान्तलाई नेपालीमा पैलो पटक ‘जिम्दो नेपालि भासा पैलो खण्ड’ले अनि ‘नेपाली वर्णोच्चारणशिक्षा’ले व्याख्या गरेको हो। यस सिद्धान्तलाई वि.सं २०५० तिर आएर ११/१२ कक्षाका पाठ्यक्रममा पनि राखिएको छ। संयुक्त व्यञ्जनका लिपिलाई सरलीकरण गर्ने मार्ग पनि यसमा देखाइएको छ। आजभोलिका भाषाशास्त्री, वैयाकरण र कोशकारहरूयस अभियानबाट धेरै नै प्रभावित भएका पनि छन्। तामाङभाषा इत्यादि धेरै भाषाको लेखनपद्धतिलाई उच्चारणअनुरूप बनाएर लेख्ने व्याकरणग्रन्थहरूको निर्माणसमेत गरिसकेका छन्। तर यस विषयको चर्चा–परिचर्चा चाहिँ कम सुनिन्छ। यिनै विषयको विवेचना र मूल्याङ्कन गरेर लेखिएको ‘जिम्दो नेपालि भासाः अभियान र अभियन्ता’ भन्ने ग्रन्थ पनि प्रकाशित भएको छ (टेकनाथ दहाल, २०७४, साङ्ग्र्रिला बुक्स)। भानुभक्तकृत भाषारामायणका भूमिकामा पनि वर्णका र व्याकरणका विषयमा धेरै नै विवेचना गरिएको छ (२०७३, सङ्ग्र्रिला बुक्स)।

उपसंहार

विवेचक व्यक्तिहरूले गतानुगतिक नभैकन उपर्युक्त कुराहरूको ऊहापोह गरेर स्वाभाविक उच्चारणअनुरूपको नेपाली लेखन अँगाल्ने र त्यसको महत्त्व बुझ्ने–बुझाउने गर्नु उचित हुन्छ। यस्तो कार्य बहुसङ्ख्यक भाषाप्रयोक्ताका हितमा हुने देखिन्छ।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्