मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलकाे अग्रता

मोरङ  – मोरङ क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रतालाई निरन्तरता दिएका छन्।

विराटनगरको आदर्श माविमा गरिएको ७० हजार ३ सय ३७ मतगणनामा मण्डलले ४ हजार २ सय ७८ मतको अन्तर बनाएका छन्।

नेकपा एमालेबाट टिकट नपाएपछि विद्रोही उम्मेदवारका रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका मण्डलले २१ हजार १ सय १८ मत हासिल गरेका छन्।

उनलाई मतगणनाको दोस्रो स्थानमा रहेका गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १६ हजार ८ सय ४० मत पाएका छन्।

त्यसैगरी, नेकपा एमालेसँग तालमेल गरेको जसपाका उम्मेदवार राजकुमार यादवले १६ हजार ८ सय ३५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल ७२ हजार ९ सय ७३ मत खसेको थियो।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्