विजय जुलुस निकाल्दै रहबर अन्सारीले भनेः ‘यो जनताको जित हो’

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका रहबर अन्सारीले आफ्नो जित नभइ जनताले जितेको बताएका छन्।

बिहीबार आफ्नै निवासबाट विजय जुलुस निकाल्दै उनले आम जनताले परिवर्तन गर्न चाहेकोले यसपाली जनताले जितेको बताए। अन्सारीले आफू सधै जनताको विकासको लागि लड्ने बताउँदै आम मतदाताहरुलाई धन्यवादसमेत दिए।

‘यो जित मेरो जित होइन, जनताको जित हो,’ उनले भने

लामो समयदेखि क्षेत्रका जनताले विकासको लागि परिवर्तन खोजिरहेकाले यसपाली आफूलाई जनताले मत दिएर जिताएको अन्सारीको भनाइ थियो। उनले जनताले चाहेका काम पूरा गर्ने प्रतिबद्धतासमेत जनाए।

विजय र्‍यालीमा सहभागी भएका उनलाई मतदाताहरुले मिठाइ खुवाएर स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अन्सारी गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ को ‘क’ बाट ७ हजार ८१७ मत ल्याइ विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका बिचारी यादवलाई २ हजार २९९ मतले पराजित गरे। यादवले ५ हजार ५१८ मत ल्याए।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्