केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ– मंसिर ४को मतदानको धमाधम मतपरिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको टेलिफोन संवादले राजनीति एकाएक तरंगित भएको छ।

ओलीले आज बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गरेर फेरि मिलेर अघि बढ्न आग्रह गरेका छन्।

ओलीले प्रचण्डसँग तिक्तता बढ्दै जाँदा निकै वरपर भएको र यस बिषयमा अब बसेर कुरा गर्न प्रस्ताव राखेका प्रचण्ड निकट स्रोतले दावी गरेको छ।

प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको जवाफ दिएका छन्।

प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताए।

‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ, पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ’ भनेर प्रचण्डले ओलीलाई जवाफ दिएका प्रचण्डको सचिवालयले जनायो।

जारी मतगणनामा कांग्रेस अग्र स्थानमा छ भने एमाले दोस्रोमा छ। माओवादी केन्द्र तेस्रोमा रहँदै गर्दा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ।

चुनावी मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख तथा ठूला भनिएका दललाई चुनौती दिइरहेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको राम्रो मत आएको छ। कांग्रेसका पनि धेरै सांसद समानुपातिक कोटामार्फत संसद छिर्ने देखिएको छ।

माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबरी जस्तो मत ल्याएका छन्।

एमालेको समानुपातिकमा राम्रै मत देखिएपनि प्रत्यक्षतर्फ आसा लाग्दो नतिजा नदेखिएपछि ओलीले अनेक बिकल्पहरुको प्रयास गरेका हुनसक्छन्।

नेतृत्व क्षमतामाथि प्रश्न र कम्युनिष्ट पार्टीको अस्तित्वमा चुनावी नतिजा ग्रहण लाग्न थालेपछि ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका हुन सक्छन्।

मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी २०७५ जेठ ३ मा एक भएका थिए।

२०७४ फागुन ३ मा एमाले र माओवादीको समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा एमाले अध्यक्ष ओलीलाई एमालेका १२१ र माओवादीका ५३ गरी १७४ सांसदको समर्थन थियो।

२०७५ जेठ १४ मा दुई बुँदे सहमति गरेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ओली सरकारलाई स्पष्ट दुई तिहाइको समर्थन प्राप्त भएको थियो।

तर २०७८ वैशाख २७ मा प्रतिनिधि सभामा विश्वासको मतमाथि मतदान हुँदा भने प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत झर्‍यो।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रको मात्रै होइन, एमालेको पनि सबै मत तत्कालीन प्रधानमन्त्री ओलीले पाएनन्।

तीन वर्ष नपुग्दै दुई तिहाइको समर्थन पाएको सरकार एकाएक अल्पमतमा परेको थियो।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खारेजी गरिदियो।

सर्वोच्चको उक्त फैसलापछि विधिवत् रुपमा अस्तित्वविहीन हुनुअघि नै व्यवहारिक रुपमा पार्टी तीन चिरा भइसकेको थियो।

मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाउने महत्वकांक्षी लक्ष्यसहित एक भएको नेकपाको एकता तीन बर्ष पनि टिक्न सकेको थिएन।

यति छिटै उक्त घटना भुलेर ओलीले दाहाललाई फेरि सँगै हिड्न प्रस्ताव गरेका हुन्।

लोकतान्त्रिक मूल्य मान्यता र धार भएका मुलुकहरुबाट नेपालका लोकतान्त्रिक दलहरुलाई समर्थन आइरहेको बेला कम्युनिष्ट एकताको लागि ओलीले प्रयासको सुरुवात गरेका हुन्।

त्यसको अलवा स्वतन्त्र तथा बैकल्पिक उम्मेदवारहरुको जितले पनि ओलीलाई नेकपा एकताको प्रयास गर्न दवाव परेको हुन सक्छ।

पाँच बर्ष अघि चीनले जसरी कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने प्रयास गरेको थियो, पुन सोही प्रयासलाई ब्युँत्याउन खोजेको पनि राजनीतिक बृत्तमा अनुमान छ।

आजको टेलिफोन संवादमा ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए।

बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए भने स्वतन्त्र दलले चुनाव जित्नु मामुली भएको प्रतिक्रिया दिएका थिए।

नेकपा विभाजन भएयता ओली र प्रचण्डबीच दोहोरो संवाद समेत हुन सकेको थिएन।

चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए।

चुनाव नतिजा पुरा नपाउँदै ओलीले दाहाललाई टेलिफोन गरेपछि विभिन्न अड्कलबाजी भएका हुन्।

मंसिर ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्