काभ्रेका चार वटै प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका हुन्।

ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरेका छन्।

यस्तै, सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी भएका हुन्।

उनले १९ हजार दुई सय ८० मतसहित जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरे।

यसैगरी, प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गरे। मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत प्राप्त गरे।

सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गरे।

प्रतिनिधिसभा-१ प्रदेशसभा १ बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा-२ प्रदेशसभा १ बाट निर्वाचित लम्साल यसअघि पनि बागमती प्रदेशसभाको सदस्य थिए।

ढकाल प्रदेशको युवा तथा खेलकूद मन्त्रीसमेत हुन्। जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ ले मतदान गरेका थिए ।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्