सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस बन्याे ठूलाे दल

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनकाे परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हाे ।
प्रदेशका नाै जिल्ला मध्य ८ जिल्लाकाे मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण प्रदेशसभा सदस्यका दुवै क्षेत्रको मतगणना सुरु भएको छैन् ।
अहिलेसम्म प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले ५, नेकपा एमालेले तीन र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ । एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
कांग्रेसले कैलाली र कञ्चनपुरमा ३/३, अछाममा २, तथा बझाङ, दार्चुला र बैतडीमा एक/एक प्रदेशसभा सदस्य सिट जितेको छ ।
माओवादी केन्द्रले अछाममा दुई सिट तथा डडेल्धुरा, दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र बझाङमा एक/एक सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पाँच सिट जितेको छ ।
एमालेले बैतडी, कञ्चनपुर र डोटीमा एक/एक सिट जितेको छ । एकीकृत समाजवादीले कैलाली र कञ्चनपुरमा एक/एक सिट जितेको छ ।
डडेल्धुरा (ख) बाट स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले जितेका छन्।