संसदीय दलको नेताबारे बोल्ने बेला भएको छैन– शेखर कोइराला

डा. शेखर कोइराला। फाइल तस्बिर।

काठमाडौँ–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलमा दाबी गर्ने/नगर्नेबारे आफ्नो समूहमा सल्लाह गरेर निर्णय लिने प्रतिक्रिया दिएका छन्।

मोरङ– ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी प्रक्रिया नसकिँदै दलको नेता दाबी गर्न सुहाउँदो नहुने बताए।

‘नतिजा आइसकेको छैन, समानुपातिकमा को हुने थाहा छैन,’उनले भने, ‘अहिले नै दलको नेताबारे कुरा किन गर्ने?’

आफू भर्खरै निर्वाचित भएको र अब केही दिन विराटनगरमै बसेर काठमाडौँ फर्किएपछि टिममा सल्लाह गरेर निर्णय लिने उनको भनाई छ।

समूहमा छलफल गरेपछि सभापति र वरिष्ठ नेतासँग सल्लाह गरेर निर्णयमा पुग्ने नेता कोइरालाको भनाई छ।

महामन्त्री गगन थापाले दलको नेतामा दाबी गर्ने बताइरहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई समर्थन गर्ने बचन दिएका बेला नेता कोइरालाले संसदीय दलको नेताबारे बोल्ने बेलै नभएको बताएका हुन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्