मंसिर २० देखि एन प्याब्सनको खेलकुद महोत्सव

पोखरा – १३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सवको मिति घोषणा गरिएको छ। एन प्याब्सन कास्कीले आयोजना गर्ने खेलकुद महोत्सव मंसिर २० देखि २३ गतेसम्म गर्ने तयारी छ। यद्यपि १८ गतेदेखि नै अनौपचारिक रुपमाखेल सञ्चालन हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

पोखरा रंगशालामा खेलकुद महोत्सव चल्ने छ। ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए। उनका अनुसार ४६ विद्यालयबाट प्रतिस्पर्धी विद्यार्थी खेलाडी सहभागी हुनेछन्।

विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आउन नदिन खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाइ छ। ‘इलोक्ट्रोनिक डिभाइसमा अभ्यस्त हुँदा अध्यनमा अतिआवश्यक क्रियाकलाप नभएर सकारात्मक विकासमा ह्रास आएको छ। विगतका कठिन अवस्थालाई पार गर्दै सामान्यीकरण भएकाले अब विद्यार्थीको सर्वांगिन विकासलाई ध्यान दिँदै खेलकुद महोत्सवलाई निरन्तरता दिँदैछौं’, उनले भने।

कोराना महामारीका कारण गएको २०७५ सालपछि एन प्याब्सनको खेलकुद महोत्सव रोकिएको हो। हरेक १ वर्षको अन्तरमा एन प्याब्सन खेलकुद महोत्सव हुँदै आइरहेको छ। खेलकुद र पढाइ एउटै पाटोको सिक्का भएको अधिकारीले सुनाए।

जुनियर र सिनियर दुई विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समिति सदस्य राजु कायस्थयले जानकारी दिए। उनका अनुसार जुनियरतर्फ कक्षा १ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन्। सिनियरतर्फ १ देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहनेछ। जुनियर छात्रतर्फ चार विधामा दौड, लङजम्प, हाइजम्प र सेभेन ए साइड फुटबल हुनेछ। जुनियर छात्रातर्फ फुटबल हुनेछैन्।

सिनियर छात्रातर्फ ६ विधामा दौड, हाइजम्प, लङजम्प, ११ ए साइड फुटबल, बास्केटबल, टिटि र ब्याडमिन्टन खेल हुनेछ। सिनियर छात्रतर्फ फुटबल र बास्केटबल हुने छैन।

१ सयस्वर्ण र रजत पदक वितरण हुनेछ भने १५० कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ।

१२ औँ संस्करणको एन प्याब्सन खेलकुद महोत्सवको उपाधि कास्की मोर्डनाइज्डले उचालेको थियो। कास्की मोर्डनानाइज्डले विभिन्न विधामा ३३६ अंकसहित उपाधि उचालेको थियो।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्