मतगणना गर्न कांग्रेसको माग, एमाले भन्छ पुनः मतदान हुनुपर्छ

किन भएन ५ दिनसम्म स्याङ्जा २ को मतगणना ?

पोखरा – स्याङ्जा २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको गेटबाहिर पाँच दिनदेखि दुई हेभिवेट नेता धर्नामा छन्।

एकातिर नेकपा एमालेकी पद्मा अर्यालयको समूह पुनः मतदानको माग गर्दै धर्नामा बसेका छन्। अर्कोतर्फ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मतगणनाको माग गर्दै निर्वाचन कार्यालयलाई दबाब दिँदै छन्। यी दुवै नेता स्याङ्जा २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

नतिजाको प्रतीक्षामा मतगणनास्थलबाहिर हुनुपर्ने यहाँका नेता–कार्यकर्ता उम्मेदवारको दबाबलाई होस्टेमा हैंसे गर्दै बेलाबखत नाराबाजी गरिरहन्छन्। दबाब दिनलाई धर्नामा बसेको एमाले नेता कार्यकर्ता नाच्दै गाउँदै रमाइले गर्छन्।

क्षणभरमै ‘जिन्दवाद’ र ‘मुर्दावाद’ को नारा घन्कन्छ। कांग्रेस एमालेको धर्ना, जुलुुस र नाराबाजीले वालिङ बजार आक्रान्त छ।

नेकपा एमालेले मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा मतदान भएकाले पुनः मतदानका लागि दबाब दिइरहेको छ। कांग्रेसलगायत सत्ता गठबन्धनका दलले यथाशक्य छिटो मतगणना गर्न माग गरेका छन्।

प्रतिनिधि सभामा १८ सिट र प्रदेश सभामा ३६ सिट रहेको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ स्याङ्जा २ सँगै प्रदेश ‘क’ र प्रदेश ‘ख’ को मात्रै नतिजा आउन बाँकी छ। निर्वाचन आयोग अनिर्णीत हुँदा मतदाता र उम्मेदवार अन्योलमा छन्।

चापाकोट नगरपालिकाका ४ मतदान केन्द्रको बुथ कब्जा गरेर कांग्रेसले फर्जी मत हालेको नेकपा एमाले स्याङ्जाका सचिव राजेन्द्र डुम्रेले बताए।

डुम्रेका अनुसार चापाकोट–३ को दिसिङकोट आधारभूत विद्यालय केमेरे, वडा नम्बर ४ को राममन्दिर मावि दार्सिङ नरसेवा, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय चिठ्ठीपोखरी र दिनदयालु आधारभूत विद्यालय साठीमुरे केन्द्रमा बुथ कब्जा गरेर कांग्रेसले मत खसालेको हो। मृत्यु भएका र विदेशमा रहेकाको नाममा मत खसेको प्रमाणसहित निर्वाचन आयोगमा पुनः मतदानको माग गर्दै निवेदन दिएको उनले बताए।

मृत्यु भइसकेको १३१ जनासहित २४७ फर्जी मत खसालेको आरोप एमालेको छ। दिसिङकोट आधारभूत विद्यालयको मतदान केन्द्रमा १ हजार ६४१ मतदाता रहेकामा १ हजार ५६०, राममन्दिर माविको केन्द्रमा १ हजार ४६६ मतदाता रहेकामा १ हजार ४३८, जनसक्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा ४६९ मतदातामध्ये ४६० मत खसेको एमालेले जनाएको छ।

यस्तै, दिनदयालु आधारभूत विद्यालयको मतदान केन्द्रमा ९९१ मतदाता रहेकामा ८९२ मत खसालिएकाले नेपालको निर्वाचन इतिहासमा दुर्भाग्यपूर्ण घटना ठहर गर्दै पुनः मतदान हुनुपर्ने एमालेको माग छ।

मतदानको दिन ३ बजे नै निर्वाचन आयोगमा उजुरी दिएको एमाले सचिव डुम्रेले बताए। ‘हाम्रा मतदान प्रतिनिधि लगभग १ बजे नै मतदानस्थल छाडिसक्नुभा’थ्यो। त्यहाँ बाहिरबाट हुल आयो। हुल आएर हातपात गरेपछि बस्न सक्ने अवस्था भएन त्यसपछि त्यहाँबाट भाग्नुप¥यो’, उनले भने।

एमालेका मतदान प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गरेर उनीहरूकै रोहवरमा मतपेटिका मतगणना स्थलसम्म ल्याइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले बताए।

‘सौहार्द वातावरणमा चुनाव भा’को छ। उहाँहरूले खटाएका एजेन्टले सही गर्नुभा’छ। मतगणना केन्द्रसम्म मतपेटिका सँगै ल्याउनुभा’को छ। सबै क्षेत्रबाट ल्याएको मतपेटिका नगरपालिकामा ल्याएर थन्क्याएर मुचुल्का गर्ने काम भएको छ’, उनले भने।

बाग्लुङको भिडियोलाई स्याङ्जा चापकोटको भनेर अपवाह फैलाइएको उनको भनाइ छ।

कांग्र्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार धनराज गुरुङ एमालेका मतदान प्रतिनिधिले हस्ताक्षर गरेर प्रक्रियागत तवरले निर्वाचन सम्पन्न भएको दाबी गर्छन्।

‘मनगढन्ते तरिकाले बुथ कब्जा भो भनियो। बुथ कब्जा भनेको के हो ? जनताले मतै हाल्न नपाउनुपर्ने हो उहाँहरूको भनाइअनुसार ?’, उनको प्रश्न छ। एमाले हारको मानसिकताबाट प्रभावित भएको गुरुङले टिप्पणी गरे।

‘उहाँको प्रतिनिधिहरूको उपस्थितिमा मतदान भएको छ। त्यसकारण जबरजस्त ढंगबाट आफूले जित्नुपर्ने मनसायबाट आएका आरोप मात्र हुन्’, उनले भने।

एमालेकी प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्याल मतदातालाई डर, त्रास देखाएर हातबाट मतपत्र खोसेर अनधिकृत व्यक्तिले मतदान गरेको बताउँछिन्।

विश्वमा कतै नखसेको प्रतिशतमा यहाँ मत खसेको उनले उल्लेख गरिन्। पुनः मतदान हुनै पर्ने उनको माग छ।

‘भिडियो सार्वजनिक भा’छ। नामसहित मरेका मान्छे फलाना–फलाना उल्लेख छ। लन्डन भएका मान्छेहरू, अमेरिका भएका मान्छेहरू, खाडी मुलुक भएका मान्छेहरू यहाँ मतदान गर्ने सिस्टम छ नेपालमा ? त्यहाँ मात्रै गरे। हामीकहाँ त्यो कानुन त छैन’, उनले भनिन्। अगाडि थप्दै अर्यालले भनिन्, ‘हामीले प्रतिनिधिमूलक सबै केन्द्रको सार्वजनिक गरेका छौँ। हाम्रा एजेन्ट भन्दै छन् हामी त्यहाँ छाडेर हिँडेको हो हाम्रो सिग्नेचर छैन। अनि सिग्नेचर गर्ने सिलबन्दी गर्ने। यता आएर हार्छम भनेर विरोध गर्ने?’ जनताको मतले हार्न तयार भएको तर लुटेको मतले हार्न तयार नभएको उनले दोहोर् याइन्।

निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए।

‘आयोगबाट मान्छे आउने कुरा बुझिएको छ, बाहिर अनौपचारिक रूपमा। आजै आउने भन्ने छ। सायद आएपछि केही निकासा हुन्छ कि’, उनले भने।

मतगणना थाल्ने या पुनः मतदान हुने विषयमा निर्वाचन आयोगले निर्णय लिन सकेको छैन। निर्णय लिन अझै कति समय लाग्ने यकिन नभएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले बताए।

‘आयोगले अध्ययन गर्दै छ। धेरै लामो त जाँदैन निर्वाचन जस्तो विषयमा। तर, कम्तीमा यथार्थ कुरा त पत्ता लगाउनुप¥यो’, उनले भने।

आयोगले निर्णय गर्नलाई अनुसन्धान र जाँचबुझ गर्न बाँकी रहेको पौडेलले बताए। दुवै पक्षको निवेदन परेकाले गहन अध्ययन गरेर मात्र टुंगो लगाउने उनको भनाइ छ।

१ लाख १६ हजार ६७८ मतदाता रहेको स्याङ्जा २ मा ६९९२८ मत खसेको छ। १२ जना प्रतिनिधि सभा उम्मेदवार छन्। ९० मतदान स्थलका १५० मतदान केन्द्र मतदानका लागि व्यवस्था गरिएको थियो। प्रदेश ‘क’ मा ६ र प्रदेश ‘ख’ मा ७ जना उम्मेदवार छन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्