सुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ – आजबाट काठमाडौँमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु भएको छ।

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको शुक्रबारबाट सुरु भएको हो।

काठमाडौँस्थित मण्डला थिएटरमा नाट्य महोत्सव उद्घाटन भएको हो। भारतकी प्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी छन्।

महोत्सवमा १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शलगायतका कार्यक्रम हुनेछन्। महोत्सवमा विश्वभरबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै अभिनेता अनुप बरालले पछिल्लो समय नाटकमा अभिनय गर्नेहरु सहजै पाउने गरे पनि लेखक पाउन मुस्किल रहेको बताए। उनले नाट्य लेखनमा उदासिनता र शून्यता आएको बताए।

उनले भने, ‘नेपाली रंगमञ्चको पछिल्लो सिनारियो हेर्ने हो भने सधैँ खड्किने विषय नाटक लेखनको अभाव नै हो। किनभने जो पनि आउँछ अभिनेता बन्छु मात्रै भन्छ, नाटक निर्देशक बन्छु भनेर आउँछ तर नाटक लेख्ने मान्छे पाइँदैन। लेखक भन्ने कुरा दुर्लभ जन्तुजस्तै भयो। पछिल्लो समय लेखनमा एक किसिमको उदासिनता देखिएको छ। शून्यता छाएको छ।’

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्