पुमोरी हिमालमा खिचिएको भनिएको हिउँ चितुवाको तस्बिर ‘फेक’

काठमाडौँ – अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको भनिएको हिउँ चितुवाका तस्बिर ‘फेक’ रहेका आधारसहितको तथ्यजाँच-अनुसन्धानात्मक सामग्री प्रकाशित भएको छ।

पर्वतीय विषयवस्तुमाथि रिपोर्टिङ्ग गर्दै आएको फ्रान्सेली तथा अंग्रेजी भाषाको अल्पाइनम्यागले हिउँ चितुवाको क्षेत्रमा विज्ञता भएका अनुसन्धानकर्ताको विश्लेषण तथा तस्बिरको विभिन्न पक्षबाट तथ्यजाँचसहितको सामग्री प्रकाशित गरेको हो।

सो सामग्रीमा कितियाका कम्तीमा तीन तस्बिर देखिनेगरी नै ‘फेक’ झुट रहेको अर्थात् त्यसमा विभिन्न तस्बिरका अंशहरू प्रयोग गरेर कोलाज बनाइएको उल्लेख छ। यसैगरी, फोटोग्राफरको वास्तविकतालाई लिएर पनि शंका रहेको अल्पाइनम्यागको सामग्रीमा छ।

कितियाले खिचेको भनिएको तस्बिरमा पुमोरी हिमाल क्षेत्रमा हिउँ चितुवा देखिएको दावी गरिएको छ। तर विज्ञहरूले भने सो क्षेत्रमा हिउँ चितुवा पाइने सम्भावनामाथि नै प्रश्न गरेका छन्।

तथ्यजाँचका लागि आफूहरूले वास्तविक तस्बिर नै मागे पनि कितियाले उपलब्ध नगराएको अल्पाइनम्यागको अनुसन्धानात्मक सामग्रीमा उल्लेख छ।

कितियाले आफ्नो कामबारे सार्वजनिक रूपमा जानकारी नगराएसम्म अझै धेरै प्रश्न अनुउत्तरित रहेको जनाइएको छ। ‘सगरमाथा क्षेत्रको पुमोरी हिमालमा खिचिएको दावी गरिएको हिउँ चितुवाको तस्बिर वास्तवमा कहाँको हो? कितिया पावलोभ्स्कीकै वास्तविकता के हो? र, तस्बिरमा रहेको पृष्ठभूमिबारेको वास्तविकता के हो?’ सहितका कुरा अझै स्पष्ट हुन बाँकी रहेको अनुसन्धानात्मक खबरमा उल्लेख छ।

कितियाले आफ्नो इन्स्टाग्राममा हिउँ चितुवाको तस्बिर बिक्री गरेर स्नो लियोपार्ड ट्रस्टलाई सहयोग गरेको दावीसहितको सामग्री राखेकी छन्। उनका अनुसार नोभेम्बर २५ मा ट्रस्टलाई ७८७.५० अमेरिकी डलर प्रदान गरिएको हो।

कितियाले आफ्नो इन्स्टाग्राम एकाउन्ट नेपाली समय अनुसार शनिबार बिहान निष्क्रिय पारेकी छन् । उनले यसअघि ट्रस्टलाई पैसा दिएको भन्ने जानकारीसहितको स्टोरी राखेकी थिइन् ।

कितियाले सगरमाथा क्षेत्रमा गएर हिउँ चितुवाको तस्बिर खिचेको भन्ने सार्वजनिक भएपछि देश सञ्चारमा गत कात्तिक २२ गते ‘जब देखियो पुमोरी हिमालको छायाँमा हिउँ चितुवा’ शीर्षकको सामग्री प्रकाशित गरिएको थियो। सो सामग्रीको आधार कितियाको तस्बिर हो, तर त्यसमा हिउँ चितुवाको बासस्थान र अवस्थाबारे विस्तृत जानकारी समेटिएको छ।

यसैबीच लामो समयदेखि हिउँ चितुवासहितका पर्वतीय क्षेत्रका जनावर तथा भूगोलको तस्बिर खिच्दै आएका नेपाली फोटोग्राफर टासी आर घलेले खिचेका हिउँ चितुवाका तस्बिरको प्रदर्शनी शनिबार (मंसिर १० गते) देखि काठमाडौँमा सुरु हुँदैछ।

ललितपुरको झम्सिखेलस्थित विण्डहर्स ग्यालरीमा हुने सो प्रदर्शनी आउँदो डिसेम्बर २५ सम्म जारी रहने छ।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्