नेपालगञ्ज – पाँचौँ मेयर कप साइकल दौड प्रतियोगितामा देबबहादुर बोहोरा प्रथम भएका छन्।

नेपालगञ्ज उपहानगरपालिकाको सहकार्यमा नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको प्रतियोगितामा ३५ किमितर्फ एमटिभी पुरुषमा बोहरा प्रथम, जङ्गु थारु दोस्रो र शिवप्रसाद थारु तेस्रो भएका हुन्।

२५ किलोमिटर एमटिभी महिलातर्फ रुपा थारु प्रथम, सीता सार्की दोस्रो र पार्वती सार्की तेस्रो स्थानमा आउन सफल भए । विजेता सीता र पार्वती जुम्ल्याहा दिदिबहिनी हुन्।

४० वर्षमाथिको एमटिभी मास्टर समूहमा दीपक मल्ल प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र किरणप्रसाद श्रेष्ठ तेस्रो भए। साधारण साइकल पुरुषतर्फ रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु दोस्रो र जुगलाल थारु तेस्रो भए।

साधारण साइकल महिलातर्फ इन्दिरा थारु प्रथम, मीनाकुमारी थारु दोस्रो र कल्पना सार्कीे तेस्रो भए।

प्रतियोगितामा विजेतालाई नगद र मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्जका मेयर प्रशान्त बिष्टले प्रदान गरेका थिए भने एमटिभी पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रो स्थानलाई बिबि साइकल सेन्टर र महिलातर्फ नेपालगञ्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचिव तथा कार्यक्रम संयोजक प्रदीप सापकोटाले जानकारी दिए।

कार्यक्रम क्लबका अध्यक्ष सतिश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगितामा सबै बिधामा गरी ६७ जना महिला र पुरुषले सहभागिता जनाएका थिए।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्