यस्तो छ जीवनबहादुर शाहीको राजनीतिक यात्रा

सिमकोट – दुर्गममा जन्मिएर पनि विदेशमा पाइलट कोर्स पूरा गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका लागि जीवनको मोड नै परिवर्तन भएको छ।
साविक खार्पुनाथ गाउँ विकास समिति–५ को खर्पेलगाउँ स्थायी घर भएका उनी ०१९ सालको फागुन १९ गते साविक छिप्रा गाउँमा रहेको मावली घरमा बुवा मानबहादुर शाही र आमा बेलमाया शाहीको कोखबाट जन्मिएका हुन्।

प्रारम्भिक शिक्षा जन्मेको गाउँ र सिमकोटमा लिएका उनले केही समयपछि काठमाडौँस्थित बूढानीलकण्ठ स्कुलमा विद्यालय शिक्षा आर्जन गरेका थिए।

काठमाडौँमा अध्ययनका क्रममा कराँतेमा ब्ल्याकबेल्ट, विद्यालयमा अध्ययन गर्दा तत्कालीन युवराज दीपेन्द्रको मार्सल आर्टको गुरु, ज्यामेनिस्टीकमा दक्षता र भलिबलमा पनि उस्तै सीप उनमा रहेको छ।

अंग्रेजीमा राम्रो दक्खल भएका उनले भलिबलमा त साविकको कर्णाली अञ्चल प्रतियोगितामा सहभागिता जनाएका थिए। विद्यालय तहको अध्ययनपछि पाइलट अध्ययनका लागि उनी अमेरिका हान्निएका थिए।

पाइलटको कोर्स पूरा गरेर केही समय अनुभव बटुल्दै उक्त पेसालाई बिट मार्दै ०४६ सालपछि नेपाली कांग्रेस हुम्लाको राजनीतिमा होमिएका हुन्।

राजनीतिले खासै महत्व नपाएको हुम्लामा उनी नेपाली कांग्रेसको संस्थापक सभापति बन्न सफल भए। तत्कालीन अवस्थामा हुम्लामा कांग्रेस वाममोर्चा साइनबोर्ड बनाएर पार्टी कार्यालयसमेत स्थापना गर्नुपरेको थियो।

राजनीति चेतना नभएका कारण त्यसो गरिएको उनको भनाइ छ। ०४६ देखि ०६२ सालसम्म उनी नेपाली कांग्रेस हुम्लाको पार्टी सभापति निरन्तर पदमा रहे। ०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा पराजित शाही ०५५ सालमा भएको स्थानीय निर्वाचनबाट सभापतिमा निर्वाचित भए।

०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादीका उम्मेरदवारसँग पराजित भएका थिए। सिमकोट– हिल्सा सडकका परिकल्पनाकारका रूपमा जिल्लामा परिचय बनाएका उनले ०५५ सालमा जिल्ला विकास समितिको सीमित स्रोत–साधनबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए।

सोही अवधिबाट हुम्लामा एक घर एक शौचालयको अवधारणा पनि उनले नै ल्याएका हुन्। भलै त्यसले मूर्तरुप पाउन ०७४ सालसम्म लाग्यो। ०६९ सालसम्म उनले हिल्सा सडक निर्माण कार्यमा आफँै जुटेर पाँच महिनासम्म डोजर सञ्चालन गरेर सडक निर्माण कार्यमा खटिँदाको अनुभव सुनाउँदै उनले त्यतिबेला धेरैबाट धेरै कुरा सुन्नुपरेको गुनासोसमेत गरे।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले ०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा हुम्ला जिल्लाबाट निर्वाचित भएपछि मुख्यमन्त्री शाही संसदमा सबैभन्दा धेरै दिन उपस्थित हुने सभासद्का रूपमा देखा पर्न थाले।

यो अवधिमा उनी संसद् विकास समितिको सदस्यमा रहँदा कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्न तत्कालीन सरकारसँग ठूलै लबिङ गर्नुपरेको थियो। ०७३ सालमा देशको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र खानेपानी मन्त्रीसमेत भए।

०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसको तर्फबाट एक जना मात्र सदस्य निर्वाचित हुम्ला जिल्लाको ख नम्बर क्षेत्रबाट उनी सफल भए।

स्पष्ट धारणा राख्न सक्ने शाहीबाट कर्णाली प्रदेशवासीले ठूलो अपेक्षा राखेका छन्। उनले समय छोटो, काम गर्नुपर्ने धेरै भएका कारण चुनौती र अवसरकाबीच काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्