विवाह पञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न (तस्बिरसहित)

जनकपुरधाम – सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत चौथो दिन तिलकोत्सव मनाइएको छ। शनिबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न गरिएको हो।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए।

विवाह पञ्चमी कार्यक्रमअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गरेका छन्। जसलाई मिथिला क्षेत्रमा ‘सम्धी’ मिलन भनिन्छ। तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हासपरिहास कार्यक्रम भएको थियो।

तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा पुगेर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए। अब विवाहपञ्चमीको पाँचौ दिन आइतबार जानकीको मटकोर हुनेछ।

मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने सोमबार विवाह पञ्चमीको मुख्यदिन जानकी स्वयम्बर तथा राति जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। मंगलबार रामकलेवा गरेसँगै यसवर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्