मोरङ – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यतर्फको मत गणनामा देखिएको विवादपछि बसेको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ।

इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार विवाद उत्पन्न भएपछि शनिबार सर्वदलीय र सर्वपक्षीय बैठक डाकिएको थियो। सो बैठकमा समेत दुवै पक्षबीच विवाद हुँदा मत गणनामा सहज वातावरण नभएको जनाउँदै कार्यालयले मत गणना कार्य स्थगित गरेको जनाएको छ।

यसअघि, कांग्रेसले मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले विवरण थपघट गरेको आरोप लगाएको छ। विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार शनिबार दिउँसो मतगणनाका क्रममा समस्या देखिएको जानकारी दिए।

उनका अनुसार मतगणनास्थलका कर्मचारीले गणना गरिएको मतको इन्ट्री सही रुपमा सिस्टम राखे पनि बाहिर जानकारी दिँदा फरक परेको हो। उनले भने, ‘कर्मचारीले सिस्टममा मत गणनाको इन्ट्री दुरुस्त गरेको देखिएको छ। तर, बाहिर जानकारी गराउने क्रममा एनाउन्स गर्दा फरक भएको हो। अहिले मतगणना स्थगित भए पनि बिहानबाट सहमतिसँगै पुनः मतगणना जारी हुनेछ।’

यस विषयमा सुनसरी जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले मतगणनामा त्रुटि देखिएको र भोलि समाधान हुने बताए।

अर्कोतर्फ मतगणनामा रहेका तरुण दल सुनसरीका सभापति एवं कांगेसका प्रदेश १ सदस्य सिजन गुरुङले करिब ६ सय ६ मतमा गडबडी भेटिएको बताए।

‘शुक्रबार राति सो संख्याको बढी मत एमालेको पक्षमा देखाएर गणनास्थलबाट कर्मचारीले आयोगलाई रिपोर्ट बुझाएको प्राविधिक टोलीले जानकारी दिएको थियो। बराह क्षेत्र नगरपालिकाको ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको मतगणनामा कर्मचारीले एउटा रुजु गरेको र बाहिर अर्को एनाउन्स गरेका थिए। यसबारे हामीले तत्काल निवेदन दिँयौ र सो बढाइएको संख्या पुनः घटाइयो,’ उनले भने, ‘हाल किन सो कमजोरी भयो भनेर गणना गर्नेमाथि प्रश्न उठाएका हौँ। यसबारे सर्वपक्षीय छलफल भएको थियो। सहमति जुट्न सकेन। अब भोलि पुनः बस्ने छौँ।’

उनले थपे, ‘अहिले आयोगको वेभसाइटमा राखिएको मतसंख्या ठीक छ। यसअघि, एमालेको बढी भनिएको ६ सय ६ मतलाई घटाएर अहिले राखिएको हो। यो सही छ। तर कमजोरी किन भयो हामीले प्रश्न गरेका हौँ।’

सुनसरीको निर्वाचन क्षेत्र ४ मा गठबन्धनतर्फ सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेबाट प्रदेश १ का पूर्वमन्त्री जगदीश कुसियैत प्रतिस्पर्धामा रहेका छन्। मतगणनाका क्रममा कार्की २३ हजार ४ सय ३९ मत र कुसियैतले २३ हजार ३ सय ४१ मत पाएका छन्। जसमा सञ्चारमन्त्री कार्की ९८ मतले अग्रतामा रहेका छन्।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्